डडेल्धुरा जिल्ला भागेश्वर–२ रुपालमा हरेक तेस्रो वर्ष गौरा पर्वको भोलिपल्ट अलौकिक मेलाका रुपमा मनाइने जोगेनी जाँत (मेला) यस क्षेत्रको एक सुप्रसिद्ध जाँत हो । रुपालबासी देश बिदेश जहाँ भएपनि यो जाँत हेर्न पुग्ने गर्दछन् । यो मेला परापूर्व कालदेखि मनाइँदै आइएको छ । यो मेला हेर्नका लागि सुदूरपश्चिम प्रदेशका प्रायः सबै जिल्लाबाट भक्तजनहरु आउने गर्दछन् । यो मेलास्थल डडेल्धुरा जिल्ला सदरमुकामबाट झण्डै ४० कि.मी. दुरीमा रहेको छ । यो मेलालाई ‘चौसठ्ठी माता’ का रुपमा पनि लिने गरिन्छ । यस वर्ष अर्थात २०८२ सालमा पर्न गएको जोगेनी जात्रा यही भाद्र २० गते मनाइने भएकाले रुपालमा आजभोलि निकै चहलपहल बढेको छ ।
-कसरी सुरु भयो जोगेनी जाँत ?
जोगेनी जाँत नागी मल्ल राजाका पालामा सुरु भएको भनाइ छ । रुपालको महाकाली नदी नजिकै जाख भन्ने गाउँमा सुनी जातिको बसोबास थियो । उनीहरु महाकाली नदीमा माछा मार्ने गर्दथे । एक दिन त्यस गाउँमा काका भतिज नाता पर्ने दुईजना माछा मार्न जाल लगेर महाकाली गएछन् । त्यसदिन जालभित्र मान्छेकै अनुहारका माछा पर्छन् । त्यो जालसहितको माछालाई घिसार्दै तान्दै घरमा लगे । घर पुगेपछि ती माछालाई के गर्ने भनेर गाउँका सबैलाई बोलाइ कुरा गर्न थाले । कोही गाउँले त्यसलाई काटेर खाऊँ भन्न थाले भने कोही गाउँले त्यसलाई अजयमेरु दरवार लैजाऊ भन्न थालेछन् ।
त्यो बेला अजयमेरुमा नागी मल्लको शासन थियो । गाउँका कुनै नयाँ घटना वा बस्तु भेटिएमा दरवार लैजानु पर्ने चलन थियो । त्यसैले सबै गाउँलेले ती माछालाई जालसहित अजयमेरु दरबार लैजाने निर्णय गरे । राती नै लैजानुपर्ने भएकाले गाउँलेहरु सबै मिली त्यो जालसहित नै बोकेर हिड्न थाले । जाँदै गर्दा जालबाट एउटा निस्केर भाग्छ । रातभरि हिँड्दा हिड्दै बयलपाट भन्ने ठाउँमा पुग्दा त्यहाँ पनि जालबाट एउटा माछा निस्केर भाग्छ । त्यहाँबाट जाँदै गर्दा एउटा डाँडामा पुगेपछि (हालको जाँत हुने ठाँउ) थकान मेट्न एकछिन् बस्न थाले र जालपनि छेउमै राखे । केही छिनपछि उज्यालो भयो । तिनीहरु हिडौ भनेर जाल राखेको ठाउँतिर गए तर त्यहाँ त जालभित्र ढुंगाहरु थिए । त्यो देखेर सबै जना आत्तिएछन् त्यसैबेला आकाश गर्जिएछ र पानी परेछ । ती सुनीहरु डराउछन् । यो के भयो ? कसरी भयो ? भनेर सबै घर भाग्न थालेछन् । यता पुरै रुपालमा अशान्ति, डर त्रास, बेथिति तथा कोही काम्न र कोही पागल हुन थालेछन् । यस्तो अनर्थ देखेर गाउँलेहरु सबै मिलि धामी झाक्री बोलाएर पन्जनी (बन्दोबस्त) गर्ने सल्लाह बमोजिम त्यस ठाउँका सबै धामी झाक्रीहरु एक ठाउँमा जम्मा भएछन् ।
पन्जनीमा सुनीहरुले योगिनी जालमा समातिए पछि भएको संवाद सुनाए । जालमा समातिए पछि मैले तिनका बारेमा सोधे को हौ ? कसरी मेरो जालमा फस्यौँ ? भन्दा ती मध्येबाट उमेरले छिप्पिएकी गेरु बस्त्र धारण गरेकी आइमाई जस्ती देखिने अगाडि आएर भन्छिन् । म चौसठ्ठी योगिनी मध्ये हु । यी तीन सय त्रिसठ्ठी मेरा छोरा हुन् । यतै खेल्छौ, मसानमा रमाउँछौं, मुर्दा बोकेको देख्दा अति खुसी हुन्छौँ । जिवित मानिससँग सामान्यतया बैरभाव छैन् । हाम्रो बाटो छेके हामीलाई जिस्क्याए मेरा छोराहरु जाइ लागिहाल्छन् । योगीनीका कुरा सुनेर करलैलाई थप बल पुग्यो । समाधानका उपाय निकाल्न सजिल भयो ।
उक्त विषयमा छलफलका लागि बसेका कैलपाल, करलै, लाटो, समैजी आदि देवताहरुले करलै लाई सघाए । देवताहरुको बलले योगिनी सहितका भूतलाई नियन्त्रणमा ल्याए । रुपाल गाउँमा किन आतंकित गरेको ? के गरेर यो समस्या समाधान हुन्छ ? भनी योगिनीलाई साधियो । प्रत्येक तीन वर्षमा गौरा विर्षजन भएको भोलिपल्ट पूजा लगाउनु पर्ला ।
दुईखुट्टा र चारखुट्टा भएको प्राणीको बली दिनुपर्ला, चारखुट्टा भएको जीव पनि तीन सय चौसठ्ठी पातलामा जौ का एक पल्टे रोटी त्यसैमा मासुका टुक्रा राखेर हामीलाई ल्याएर आउने सुनीले पूजा लगाउने छन् । सबै रुपालीहरुले हातमा खुकुरी, तरवार जस्ता हातहतियार सहित समावेश हुनुपर्नेछ । यसमा सबै देवीदेवताहरुको र ती जोगिनीको सहमति भएपश्चात रुपालमा शान्ति हुन थाल्यो । जोगिनीले तोकेका सर्तहरु पूरा गराउने जिम्मा करलैले लिए । करलई देवतामा ज्योतिषी ज्ञान पनि भएकाले ती विरहरु शान्त पार्न करलै देवताको विशेष भूमिका रहेकाले यस जाँतका मुख्य देवता करलैलाई मानिन्छ । यसै सहमती अनुसार बली र पूजा सामग्रीका लागि रुपालको प्रत्येक घरबाट नाली (अन्न ः गहुँ, जौ, ...) र नगद भिटी उठाउने गरिन्छ ।
-कसरी तोकिन्छ जोगनी जाँत हुने मिति ?
बिरुडा पञ्चमीको दिन रुपाल रुइनपाटाका मुखियाका घरबाट धुप पोखोलो (नाली) उठाएर कोटेउडा देउथलीमा सबै स्थानीय देवी देवताका धामीहरु र गाउँलेहरु जम्मा भएको भेला तथा पञ्जनीमा करलै देवताले जोगेनी जात हुने दिन तोक्ने गर्दछन् र एक जना रुपाल कोटेउडाका तिरुवा जातिमा जाँत जुडाउने गरिन्छ । उहाँले जाँत हुने दिनसम्म नवरता बस्ने गर्दछन् ।
जोगेनी जाँत हुनुभन्दा केही दिन अगाडि ती वीरहरुलाई शान्त पार्न लाटादेऊको खलामा यस ठाउँ (रुपाल) का कैलपाल, लाटा, समैजी, डुणे, आदि स्थानीय देवताका धामीहरु सहित पन्चनीमा बसेर बैरख बाँध्ने गर्दछन् । जोगेनी जाँतको दिन आ– आफ्नो ठाउँबाट चौलौ ल्याएर जोगेनी जाँत (कुण्डल) मा पु¥याउन ती सवै देवी देवताहरुले सहयोग गर्दछन् ।
-कसरी सुभारम्भ गरिन्छ जोगेनी जाँतको दिन ?
जोगेनी जाँतको दिन बिहानै गाउँलेहरु खाना खाएर आ–आफ्नो देउथलीमा चौलो खेल्छन् । रुपालका मुख्य मुख्य ठाउँहरु कोटेउडा, नौतडी, बिस्तडी, गोल्देउखला, बिस्तडी लटाखला, रुइनपाटा र तल्ला रुपालमा बाह्रगाउँ जोरा ठकुराठीको चौलो लाटादेऊ खलामा खेल्ने गरिन्छ । मूल चौलो कोटेउडाको भएकाले सबैभन्दा पहिले अगाडि बढ्छ र पड चौलोसँग गोल्देउखलामा मिसिन्छ । केहिबेर चौलो खेल्छन् । त्यसपछि चौलो खेल्ला खेल्दै गन्तव्य स्थल कुण्डलमा पुग्छ । सबैभन्दा पहिले डमरु बजाइ सार्की तिरुवा र सुनीहरु कुण्डलमा पुग्छन् त्यसपछि कुण्डलमा चौलो पस्छ । ५ – ५ फन्का घुमेपछि त्यो चौलो नौतडीको चौलोलाई पर्छाउन जान्छ । नौतडीसँग मिसीएर कुण्डलमै प्रवेश गर्दछ र चौलौ खेल्छन् ।
चौलोमा भन्ने गरीन्छ
जना सबैजना
औ ज्वानौ : भोर भोस्सी
बिस पच्चीसाऊ: भोर भोस्सी
क्या हेरी रैछौ : भोर भोस्सी
कुण्डल जानाउ : भोर भोस्सी
आजैको दिन हो: भोर भोस्सी
मोटी माछलीका: भोर भोस्सी
घुमरेली कानीका: भोर भोस्सी
चौसठ्ठी माता: भोर भोस्सी
अपुलाई: भोर भोस्सी
पुत दिन्नीन : भोर भोस्सी
भली खुसी हुन्नी: भोर भोस्सी
चवास ज्वानौ :भोर भोस्सी
बिच बिचमा चवास, चवास, चवास, चवस................ भन्ने गरिन्छ ।
यसरी ५ – ५ फन्का अथवा केही समय कुण्डलमा खेलीसकेपछि बिस्तडीको चौलो पर्छाउन जान्छन् । बिस्तडीको चौलो मिसिसकेपछि कुण्डल निकै भरीभराउ हुन्छ र कुण्डलमा अटेसमटेस हुन्छ तरपनि दैवीय शक्तिले अटाइहाल्छन् र यसैै समयमा कतिबेला आधा चौलो बाहिर गएर खेल्छ भने कतिबेला पूरै चौलो बाहिर जान्छ । यसरी खेल्दा खेल्दै तल्ला रुपालीको चौलो आइपुगेको खवर सुनेपछि उक्त चौलोलाई पर्छाउन जान्छ ।
तल्ला रुपालीको चौलो पर्छाउन जाने ठाँउ भिरालो भएकाले धेरै मानिसहरु चिप्लीन्छन् पनि र मध्यान्नको समय भै सक्ने र धेरैजसो मानिसहरुको उपस्थिति भै सक्ने भएकाले त्यसबेला जाँतको रौनक छाइसकेको हुन्छ ।
तल्ला रुपालीको चौलो अर्थात पाँचौ चौलो मिसिसकेपछि कुण्डलमा खुट्टा राख्न सम्म ठाउँ हुदैन् । त्यसमा पनि अधिकांश चौलो खेल्नेहरुसँग हातमा तरवार, खुकुरी, हरिया हाँगाहरु, नेजाध्वजा हुन्छन् । कुण्डमा खेलिरहेको चौलोको आवाज, सिट्ठी बजाएको आवाज र दमाहा (दाइन) बजाएको आवाजले त्यहाँको वातावरण मनमोहक हुन्छ । दिनभर निरन्तर रुपमा चौलो खेलिन्छ खेलबाट बाहिर रहेकालाई जिस्काउँदै कतिबेला भन्ने गरिन्छ ः
कुनै एक जना सबैजना सम्बन्धित
- नौतड्या हा¥या हा¥या हा¥या हारेन हा¥या
- बिस्तड्या हा¥या हा¥या हा¥या हारेन हा¥या
- तल्ला रुपाली हा¥या हा¥या हा¥या हारेन हा¥या
- मधेसी हा¥या हा¥या हा¥या हारेन हा¥या
- पहाडी हा¥या हा¥या हारेन हा¥या
चौलो खेल्दाखेल्दै बिचबिचामा यस्ता खेल हाल्ने पनि गरिन्छ ः
जय माता जोगनी माता
तिमी माता जगत विधाता
तेरी सेवा आया हामी माता
फूल पाती कपुरकी पाती
आया हामी रुपालकी ताँती
दरशन दिय हो माता
भला फाटिजा कुएडी कालालेक
भला देखन दे माइतीको देश
भला का होलो पालुरीको घाँस
भला जा होलो सेउलानी पानी
भला वाइहोलो पालुरीको घाँस
भला लागीगयो लुड्थुण्या हिउँन
भला पाकिगयो मुसुरीको दुडबुण्या हिउँन ।
-पूजा विधि के कस्तो रहेको छ ?
यसरी सबै चौलो कुण्डलमा पुगिसकेपछि पूजा विधि सुरु हुन्छ । चौलो खेल्ने क्रममा करलै देवताका धामीलाई तिरुवाहरुले काँधमा राखि भित्र बाहिर घुमाउँछन् । घुमाउँने क्रममा धामीले बाख्रालाई मुखले च्यापेको हुन्छ । यता पूजास्थल तिर पूजाका लागि तिरुवा र सार्की थरका महिलाहरुले एकपल्टे रोटी पकाउँछन । पूजाको तयारीका लागि सुनी जातिहरुले कुण्डल खालि गराउछन् । सहजै खाली गर्न नमानेमा काँडा भएको हाँगाको सहायताले चौलो बाहिर पठाउँछन् ।
कुण्ड खाली भएपछि मसानको माटाले रेखा हालिन्छ र सालका पात बिछ्याएर चामल अनि कालो मसी छरिन्छ । त्यसपछि कुखुराको टाउको काटेर उडाइन्छ । भने बाख्रा र कुखुराको बली दिएर कुण्डलको बीच रहेका तीन सय चौसठ्ठी ढुंगामा (३६४ वीरहरुमाथि) राखेर दिइन्छ र बाख्राको सबै रगत (खुन) समेत तीन सय चौसठ्ठी ढुंगामा अर्थात तीन सय चौसठ्ठी वीरहरुमाथि छरिन्छ । त्यसपछि एकपल्टे रोटी ल्याएर त्यहाँ बिछ्याइएका पातलामा एक एक गरी राखिन्छ । भित्र पूजा चल्दै गर्दा बाहिर गएको चौलोभित्र आउन धेरै प्रयास गर्छ तर सुनी जातिका कार्यकर्ताहरु आउन दिदैनन् र पूजाको तयारी गर्दै गर्दा चौलो भित्र नआओस् भनेर सिस्नु, घंघारुको हाँगाहरुले हिर्काएर प्रतिकार गर्दछन् । बली दिइएको बाख्रालाई काटेर कलेजो र मासुका तीन सय चौसठ्ठी भाग बनाएर कुण्डल भित्रका तीन सय चौसठ्ठी ढुङ्गा (तीन सय चौसठ्ठी वीरहरुलाई) दिइन्छ । अनि पूजाविधि सकिन्छ र कुण्डलमा भएका रोटी उठाउँछन् । त्यसैबेला बाहिर गएको चौलो कुण्डलमा पस्छ र दिनभर चौलो खेलीरहन्छन् । बिहानदेखि साँझसम्म निरन्तर खेलिरहेका चौेलोले दिनभर त्यहाँको वातावरण गुञ्जयमान बनाइरहेको हुन्छ । निरन्तर खेलिरहने र नरोकिने चौलोमा कतिबेला यस्तो खेल पनि हाल्ने गरिन्छ ः
१) कारकुरी आसी क्याइ उद्याउँछौ
थाइ थाइ पालुरी घाँस वाइथाइ
तम भिना तति क्याइ उदास
हेर साली मेरी बासुली टुटी
२) मुसुरीको दुडबुड्या तिउन
लागि गयो लुण थुण्या हिउन
कारीकुरी आसी क्याइ उद्याउँछौँ
आलुरी पालुरी घाँस वाइ थाई
साली भिना भेट भइछ वाइ थाई
साली भिना स्वा.. दुखा भइछ
तम साली तती क्या दुबली छौ
तम भिना तती क्या निसुरा छौ
म त साली बाँसुरीको सोंच
हिट भिना मेरा माइत जाऊ
मेरा माइत बासुल्या निङालो छ
मेरा दादी बाँसुरीको सिप ।
३) ओ ज्वानौ ः भोर भोस्सी
क्याई हेरी रैछौ ः भोर भोस्सी
खेल्दीय बिरौ ः भोर भोस्सी
जोगेनी माता ः भोर भोस्सी
भली खुसी हुन्नीन ः भोर भोस्सी
तेसरा वर्ष ः भोर भोस्सी
जोगनी जात ः भोर भोस्सी
.................... आदि यस्तो खेल जोगेनी जात्राको सुभारम्भ हुने दिन बिहानैदेखि र विच विचमा गाउँने गरिन्छ । जसले गर्दा अनवरत रुपमा खेलिने चौलोमा केही अरामको अनुभुति पनि हुन्छ । दिनभर खेल्दा खेल्दै यस जात्राको रमझममा यताउता घुम्न निकै मनमोहक लाग्छ । दिनभरमा पुरुषहरु चौलो खेल्छन् भने महिलाहरु डेउडा खेल्दछन् । यो जात्रा विशेष गरी भाद्र महिनामा हुन्छ । दिनभर चौलो खेल्दाखेल्दै अँध्यारो भएपछि त्यस ठाउँमा वीरहरु चौलो खेल्न आउने हुँदा सबै जना आ आफ्नो घर फर्किन्छन् ।
व्यपार व्यवसाय
यस मेलामा सयौको संख्या भन्दा बढी पसलहरु रहेका हुन्छन् । खुद्रा पसल, होटेल, बच्चाहरुका खेलौना, पेय पदार्थ जुस, फु्रटी र शुद्ध पिउने पानी र विभिन्न प्रकारका मिठाइ पसल हुनुका साथै स्थानीय तथा बाहिरबाट फलफूलको समेत व्यपार व्यवसाय गरिन्छ । वर्षौ सम्म भेटघाट नभएका आफन्तजनसँग भेटघाटको अवसर हुने र घरबाट पकाएर लगेका मिठा परिकारहरु आफन्तजनलाई खुवाउने गरिन्छ भने आजभोलि होटेलमा समेत दाल, भात, माछा, मासु, चना, मटर, चाउमिन, जेरी आदि सबै प्रकारका खाना नास्ता पाइन्छन् ।
जसले गर्दा आगन्तुक अतिथिहरुलाई सहज हुनुका साथै मेलाको वातावरण पनि निकै रमाइलो बनाएको हुन्छ । आजभोलि त छिमेकी जिल्ला बैतडी, कञ्चनपुर र छिमेकी देश भारतबाट समेत व्यपारीहरु आउने गर्दछन् । पछिल्लो समय समाजिक सञ्जालबाट भएको तिब्र प्रचारप्रसार र यातायातको पहुँचले यो मेलामा निकै भिडभाड र मेला राम्रो हुने गरेको छ भने कुनै समय जेठी नेपाल र कान्छी रुपाल भनेर चिनिने सुन्दर रुपाल उपत्यकाको बिचबाट बग्ने रुद्रावती नदीबाट बहने साइल झरना अवलोकन गर्न पनि यस मेलमा पर्यटकहरु आउने गर्दछन् ।
जोगेनी जात्राका पुजारी दलित समुदाय
ब्राह्मण, क्षेत्री, दलित, जनजाति सबैको सहभागीता रहने प्रायजसोे जात्रा एवं मेला तथा पर्वहरुमा पुजारीको रुपमा बाह्मण नै रहने गर्दछन् तरपनि ब्राह्मण, क्षेत्री, दलित, जनजाति सबैको सहभागीता रहने यस जात्राको पुजारी भने दलित समुदायका रहने परम्परा रहदै आएको छ । सबै जातजातिबाट धुप, पोखोलो तथा धाजा नेजा भने ल्याउने गरिन्छ । आस्था, विश्वास पनि सबै समुदायका उत्तिकै रहेको हुन्छ ।
बिरुडा पञ्चमीको साँझ कोटेउडा देउथलीमा सबै गाउँलेहरु, स्थानीय देवी देवताका धामीहरु बसेर करलै देवताले जोगेनी जात हुने दिन तोक्ने गर्दछन् । त्यस दिनदेखि जात्राको दिनसम्म नवरता बस्ने व्यक्ति पनि तोकिन्छन् । त्यस्ता व्यक्ति पनि तिरुवा र सार्की थर भएकामध्ये छानिन्छन् । जात्राको दिन तोकिएपछि रुपाल गाउँबाट तथा घरघर बाट पोखालो ( पूजा गर्न चाहिने अन्न र अरु सामान ) सार्की र तिरुवा थरका कारिन्दाहरुले उठाउँने काम गर्दछन् ।
जोगेनी जाँतको मुख्य दिन सुनी जातिले पूजा लगाउने गर्दछन् । सुनीहरु माछा मार्न महाकाली गएका इतिहासबाटै यो जात्रा सुरु भएकाले सुनी जाति पुजारीका रुपमा रहन्छन् । र करलै देवताका पनि मुख्य कार्यकर्ता सार्की, तिरुवा जाति रहेकाले करलै तथा दलित समुदायको अगुवाईमा यो जात्रा सुसम्पन्न गरिन्छ । यसरी जातजातिगत रुपमा सबैको सामञ्जस्यत रहनु पनि समग्र राष्ट्रका लागि धार्मिक, सांस्कृतिक सहिष्ण्ुाता र चेतनाको सन्देशका रुपमा समेत यस जात्रालाई लिन सकिन्छ ।
यसरी अदभूत किसिमको जात्रा हुने रुपालमा प्रत्येक तेस्रो वर्ष जाँत नभएमा गाउँमा अशान्ति, अनिष्ट हुने मान्यता रहेको छ । चौसठ्ठी माता भल खुसी हुन्नीन, अपुतलाई पुत दिन्नीन् लगायत बरदान तथा आर्शीवाद पाइने र रुपालमा शान्ति हुने जनविश्वसले यो जात्रा मनाइन्छ । हरेक रुपालीहरु घरका झ्याल ढोका बन्द गरेर अनिवार्य रुपमा यस मेलामा सहभागी हुन्छन् । स्वदेश तथा विदेश गएका मानिसहरु पनि यो पर्वमा जसरी पनि घर पुग्ने गर्दछन् । संस्कृति एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तण हुन्छ भनिन्छ । पुस्तौ पुस्तादेखि हस्तान्तरित संस्कृति हो जोगेनी जाँत । पहिलो पटक हेर्नेका लागि नौलो भए पनि रुपालीका लागि भने यो पर्व अनिवार्य उत्सव र गौरभको विषय पनि हो ।
(लेखक अशिग्राम मा.वि.रुपालका शिक्षक हुन । )