Paschim Express
डडेल्धुरा अस्पतालको अध्यक्ष छनोटमा राजनीतिक हस्तक्षेपको चर्चा

धनगढी । डडेल्धुरा अस्पताल विकास समितिको नेतृत्व छनोट प्रक्रिया अघि बढ्दा राजनीतिक पहुँच र हस्तक्षेपको चर्चा सुरु भएको छ। संघीय सरकार मातहत रहेको डडेल्धुरा अस्पतालको विकास समितिको अध्यक्ष र सदस्य छनोटका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खुला आवेदन मागेको थियो।

मन्त्रालयले भदौ १ गते आवेदन आह्वान गरेपछि अध्यक्ष पदका लागि २० जना र सदस्य पदका लागि १४ जनाले आवेदन दिएका थिए। मन्त्रालयले सार्वजनिक गरेको रोस्टरमा अध्यक्षका लागि रामदत्त जोशी, लोकराज भट्ट, कृष्णदत्त जोशी, जितराज भट्ट, लक्ष्मीप्रसाद भण्डारी, शंकरबहादुर बिक, तेजबहादुर भण्डारी, तेजराज भट्ट, दमन भट्ट, सुरेशबहादुर थापा, उमराज जोशी, नवराज धिक्त, रामदत्त पन्त, यादवप्रसाद ओझा, लोकेन्द्रबहादुर ओझा, हरिप्रसाद उप्रेती, प्रकाश मडै, त्रिलोक्यनाथ पाण्डेय, एलिना गिरी र लक्ष्मण सिंहको नाम समावेश थियो।

मन्त्रालयले आवेदनका आधारमा छनोट प्रक्रिया अघि बढाउँदै उम्मेदवारको अन्तर्वार्तासमेत सम्पन्न गरिसकेको छ। खुला प्रतिस्पर्धाबाट प्रक्रिया अघि बढिरहेका बेला असोज ७ गते अन्तर्वार्ता सकिएलगत्तै डडेल्धुरामा भने ‘अध्यक्ष यी व्यक्तिलाई बनाइँदैछ’ भन्ने चर्चा सुरु भएको छ। यही चर्चाले छनोट प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठाएको हो।

स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग सम्बन्धित एक सांसदले अन्तर्वार्ताअघि नै आफूले चाहेका व्यक्तिहरूको नाम स्वास्थ्यमन्त्रीसमक्ष पुर्‍याएका थिए। स्रोतले आफूले चाहेका व्यक्ति छनोटमा नपरे सडक र सदनबाट मन्त्रीको विरोध गर्ने चेतावनीसमेत दिइएको दाबी गरेको छ। 

यतिमात्र होइन, रास्वपासँग सम्बन्धित आन्तरिक मेसेन्जर समूहमा समेत डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्ष तथा सदस्य छनोटबारे छलफल भएको बताइएको छ। छलफलमा अस्पताल विकास समितिको विषयमा यसअघि नै जिल्ला कमिटीको बैठकमा निर्णय भएको उल्लेख गर्दै सोहीअनुसार अघि बढ्नुपर्ने धारणा एकातिर आएको छ भने अर्कोतर्फ खुला प्रतिस्पर्धाबाट सुरु भएको प्रक्रियालाई निष्पक्ष रूपमा अघि बढ्न दिनुपर्ने आवाजसमेत उठेको बताइएको छ।

डडेल्धुरा अस्पताल विकास समिति विगतमा पनि राजनीतिक विवादबाट अछुतो छैन। २०७९/८० मा अध्यक्ष नियुक्तिलाई लिएर मन्त्रालयबाट छोटो अवधिमै फरक निर्णय भएका थिए। यसपटक भने मन्त्रालयले खुला प्रतिस्पर्धा र रोस्टर प्रणालीमार्फत प्रक्रिया अघि बढाएको अवस्थामा विगतको जस्तो विवाद नदोहोरिने अपेक्षा गरिएको छ।

तर, खुला प्रतिस्पर्धा हात्तीले देखाउने दात जस्तै भएको चर्चा हुन थालेको छ । उम्मेदवारको अन्तर्वार्ताको अंकभार कति थियो ? उम्मेदवार मूल्यांकनको आधार के बनाइएको थियो ? कसलाई कति अंक दिइयो र अन्तिम सिफारिस कुन मापदण्डका आधारमा गरिँदैछ ? विषय सार्वजनिक गरिएको छैन। 

डडेल्धुरा अस्पताल चार महिनाभन्दा बढी समयदेखि विकास समिति नेतृत्वविहीन रहेको र समितिको गठनमा ढिलाइ भएको भन्दै यसअघि नै प्रश्न उठ्दै आएको थियो। स्थानीयले पनि राजनीतिक दबाब र प्रभावको आशंकाबीच निष्पक्ष छनोट हुनुपर्ने विषय उठाएका छन्।

अस्पतालजस्तो प्रत्यक्ष रूपमा नागरिकको स्वास्थ्यसँग जोडिएको संस्थाको नेतृत्वमा राजनीतिक पहुँचभन्दा व्यवस्थापकीय क्षमता, अनुभव, पारदर्शिता र सेवाप्रतिको प्रतिबद्धता परीक्षण हुनुपर्ने अपेक्षा स्थानीयको छ।

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  १९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update