Paschim Express
कञ्चनपुरमा दम्पतीको हत्या : यस्तो छ घटनाको प्रकृति 

डडेल्धुरा । कञ्चनपुरमा सोमबार बिहान एक दम्पती मृत भेटिए । लालझाडी गाउँपालिका–१ बिनवारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमला मृत भेटिएका थिए ।

उनीहरू दुबै नास्ता पसल चलाउदै आएका थिए । गाउँको घरभन्दा झण्डै डेढ किलोमीटर टाढा राखेका थिए, उनीहरुले मदिरा सहितको नास्ता पसल । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार गर्मी अझै नघटेकोले उनीहरू पसलकै बाहिर बरण्डामा सुत्ने गरेका थिए । 

डीएसपी जोशीले रमेशको शव आँगनमा भेटिएको र उनकी श्रीमती कमलाको शव नजिकै बरण्डामा भेटिएको बताए । कमलाको शव सुत्ने ओछ्यानको नजिकै झुलमा रक्ताम्य  लटपटिएको थियो । दुवै जनाको अनुहार र टाउकोमा चोट रहेको र हत्या नै भएको घटनास्थलमा खटिएका एक प्रहरी अधिकारीले बताए । 

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी रविन्द्र केसीका अनुसार बडायक दम्पतीले बिहीबार बैंकबाट पैसा निकालेका थिए । `घटना शंकास्पद देखिएपछि सोही कोणअनुसार अनुसन्धान अगाडि बढाएका छौं,´ डिआइजी केसीले भने, `बैंकबाट झिकेको पैसाकै कारण घटना घटेको पनि भन्न सकिने अवस्था छैन । झण्डै साढे दुई लाख घरमै भेटिएको छ ।´

उनले घटनाको अनुसन्धानका लागि डीएसपी उमेश जोशीको कमान्डमा प्रहरी टिली र प्रदेश प्रहरीबाट तालीमप्राप्त कुकुरसहितको टोली पनि खटाइएको जानकारी दिए । दुवै जनाको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको पनि डिआइजी केसीले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update