
डडेल्धुरा । डडेल्धुरालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। शनिबार एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेश सरकारकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेकी हुन्।
राज्यमन्त्री खड्काले जिल्लालाई पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गर्दै जिल्ला खोप जिल्ला समन्वय समितिका संयोजक गगनसिंह भण्डारी र स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशरबहादुर साउँदलाई प्रमाणपत्र प्रदान गरिन्।
प्रमुख साउँदले बालबालिकाले पाउनुपर्ने खोपका सबै सूचकाङ्क पूरा भएपछि जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको बताए।
उनका अनुसार जिल्लामा हाल १०६ वटा खोप केन्द्रबाट प्रत्येक महिना २ गतेदेखि ८ गतेसम्म नियमित खोप सेवा प्रवाह हुँदै आइरहेको छ। यस वर्ष सबैभन्दा पहिले आलिताल गाउँपालिका २०८२ जेठ १२ गतेका दिन पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको थियो।
त्यसपछि क्रमशः परशुराम नगरपालिका, गन्यापधुरा गाउँपालिका, भागेश्वर गाउँपालिका, अमरगढी नगरपालिका, नवदुर्गा गाउँपालिका र अजयमेरु गाउँपालिकाले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने कार्य सम्पन्न गरेका थिए।
जिल्लामा २०८१ माघ महिनाबाट सुरु भएको घरधुरी सर्वेक्षणमा जन्मदेखि १५ महिनासम्मका जम्मा २ हजार ३८३ जना बालबालिकामध्ये ३ जना शून्य डोज र २७ जना केही न केही खोप छुट भएको पाइएको र १६ महिनादेखि ५९ महिनासम्मका ७ हजार ५२० जना बालबालिकाहरूमध्ये ३ जना शून्य डोज र ७० जना केही न केही खोप छुट भएका बालबालिका भेटिएका थिए। खोप छुट भएका सबै बालबालिकालाई वैशाख महिनासम्म राष्ट्रिय खोप तालिकाअनुसार पाउनुपर्ने सबै खोप लगाइएको थियो।
छुट पहिचान गरी स्थानीय तहमा कार्ययोजना बनाई पूर्णखोप सुनिश्चितता निर्देशिकाअनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी सबै पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेको र प्रदेश पूर्णखोप समन्वय समितिले भेरिफिकेसन गरी पूर्णखोप जिल्ला सुनिश्चितता तथा दिगोपनका लागि अनुमतिसमेत प्रदान गरेपछि शनिबार डडेल्धुरालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख साउँदले बताए।
उनका अनुसार राष्ट्रिय खोप कार्यक्रम प्रभावकारी रूपमा संचालन भएकै कारण खोपबाट बचाउन सकिने रोगहरू लाग्ने दरमा कमि आएको, रोगहरूले गर्दा हुने अपांगता दरमा कमि आएको र बाल मृत्युदर उल्लेख्य रूपमा घटाउन सकिएको छ। नेपालमा सरकारले १३ प्रकारका खोप निःशुल्क रूपमा उपलब्ध गराउने गरेको छ।
डडेल्धुरालाई पहिलोपटक १० पुस २०७२ मा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको थियो। त्यसपछि प्रत्येक वर्ष पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिँदै आएको छ।
घोषणा कार्यक्रमकी प्रमुख अतिथि राज्यमन्त्री खड्काले महिला स्वास्थ्य स्वयंसेविकाहरूले पूर्ण खोप घोषणाका लागि गरेको काम निकै उदाहरणीय र प्रशंसायोग्य रहेको बताइन्।
स्वास्थ्य क्षेत्रमा नागरिकको पहुँच बढिरहेको उल्लेख गर्दै उनले नसर्ने रोग बढिरहेकाप्रति भने चिन्ता व्यक्त गरिन्। राज्यमन्त्री खड्काले मन्त्रालयले नीतिगत सुधारमा ध्यान दिइरहेको र आगामी आर्थिक वर्षमा ‘आफ्ना लागि एक घण्टा’ अभियान सञ्चालन गर्ने नीति ल्याएको जानकारी दिइन्।
‘हामी सबैले योग, ध्यान र खेलका लागि एक घण्टा छुट्याउनुपर्छ,’ भनिन्, ‘यस अभियानलाई प्रदेशभर लैजान्छौँ।’ सबैले हातेमालोले जोगबुडा अस्पताललाई प्रदेश स्तरीय अस्पताल बनाउन सफल भएको उनको भनाइ थियो।
फरक प्रसंगमा उनले महिलाहरूले हरेक पाइलापाइलामा हिंसा खेपिरहेको बताइन्। मदिरा नियन्त्रण गरेपछि मात्रै महिलामाथि हुने हिंसा कमि आउने उनले विश्वास व्यक्त गरिन्। आत्महत्याको मुख्य कारण खोजेर त्यसलाई न्यूनीकरण गर्नुपर्ने राज्यमन्त्री खड्काले धारणा राखिन्।
डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पूर्णखोप घोषणा गर्नु ठूलो कुरा नभई यसको दिगोपना कायम राख्न चुनौतीपूर्ण भएको बताए।
उनले पछिल्लो समय सरुवा रोगभन्दा नसर्ने रोग न्यूनीकरण गर्नु चुनौती बन्दै गएको बताए। ‘समाज मानसिक रोगले आक्रान्त भएको छ,’ उनले भने, ‘यस जिल्लामा पनि आत्महत्या बढ्दै गएका छन्। यसको न्यूनीकरण तर्फ सबैले ध्यान दिनुपर्ने छ।’
परशुराम नगरपालिकाकी उपप्रमुख विमलाकुमारी बोहरा महताले पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणामा महत्पूर्ण भूमिका खेल्ने स्वास्थ्यकर्मी र महिला स्वयंसेवकीलाई प्रोत्साहन गर्नुपर्ने बताइन्।
उनले लागुऔषध न्यूनीकरणतर्फ पनि सबैले एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिइन्। उनले तीन तहका सरकारबीच समन्वयको कमि रहेको र प्रदेश र स्थानीय पालिकाले आत्महत्यालगायत घटना न्यूनीकरण गर्नमा हातेमालो गर्नुपर्ने बताइन्।
जिल्ला पूर्ण खोप समन्वय समितिका संयोजक गगनसिंह भण्डारीले खोप पाउनु बालबालिका नैसर्गिक अधिकार भएको बताए। स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा राम्रो गरेको भन्दै उनले प्रशंसा गरे। खेपको प्रभावकारिता सबैलाई बुझाउनुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्न महत्वपूर्ण भूमिका खेल्ने उत्कृष्ट खोप कार्यकर्ता र महिला स्वास्थ्य स्वयंसेविकालाई नगद पाँच हजारसहित सम्मान गरिएको थियो।