
डडेल्धुरा । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बिहीबार डडेल्धुरा अस्पतालको अनुगमन, निरीक्षण र हेमोडायलाइसिस सेवाको उद्घाटन गरेका छन् । कार्यक्रममा उनले अस्पताल व्यवस्थापनदेखि स्वास्थ्य बीमा, जनशक्ति र पूर्वाधारका विभिन्न मुद्दामा धारणा राखे ।
मन्त्री पौडेलले स्वास्थ्य बीमा बोर्डमार्फत डडेल्धुरा अस्पतालमा सेवा केन्द्र सञ्चालनमा समस्या आएको स्वीकार गर्दै, संघीय अस्पतालबाट प्रथम सेवा केन्द्र विन्दु उपलब्ध हुन नसक्ने प्रष्ट पारे । उनका अनुसार यस विषयमा अस्पताललाई संघ मातहत राख्ने कि प्रदेश मातहत राख्ने भन्ने विषयमा स्पष्ट निर्णय आवश्यक छ । यसका लागि स्थानीय तह र राजनीतिक दलहरूले आफ्नो धारणा बनाउनुपर्ने उनको भनाइ थियो ।
उनले भने, 'यदि स्थानीय तहहरूले आधारभूत अस्पताल स्थापना गर्ने हो भने अहिले देखिएका धेरै समस्या समाधान हुन्छन् । आधारभूत अस्पतालका लागि भवन बनेका ठाउँमा मन्त्रालयले बजेटको व्यवस्था गर्छ । साथै छात्रवृत्तिबाट अध्ययन गरेका चिकित्सकलाई त्यही ठाउँमा पठाइन्छ ।'
मन्त्री पौडेलले डडेल्धुरा अस्पतालले स्वास्थ्य बीमाबापत अझै २ करोड रुपैयाँ पाउन बाँकी रहेको जानकारी दिए । उनले ३ सय शैयाका लागि दरबन्दी स्वीकृत भइसकेको उल्लेख गर्दै आगामी ५* वर्षभित्र डडेल्धुरा लगायतका सबै अस्पताललाई ५ सय शैयामा विस्तार गरिने घोषणा गरे ।
उनले अस्पतालका आएका स्वास्थ्यकर्मी तथा चिकित्सकलाई खुसी बनाएर टिकाउन सबै लाग्नुपर्ने बताए ।
*यसअघि ५ वर्षभित्रमा ५ सय शैयाको हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ ।