धनगढी । शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सभा (सिनेट)को बैठक आज बसेको छ । यसअघिका तीन बैठक संघीय राजधानीमा भएका थिए भने पहिलोपटक कैलालीको गेटामै बैठक बसेको हो ।
विश्वविद्यालयको सर्वोच्च निकायको रुपमा सभा गठन गरिएको छ । सभाको अध्यक्ष विश्वविद्यालयका सहकुलपतिसमेत रहेका शिक्षामन्त्री हुने व्यवस्था छ । यस्तै, सहकुलपति नै रहेका स्वास्थ्यमन्त्री सभामा सदस्य छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, उपकुलपति र गोदावरी नगरपालिकाका प्रमुख पनि विश्वविद्यालय सभामा सदस्य रहने ऐनमा व्यवस्था छ ।
यस्तै, अन्य विश्वविद्यालयका उपकुलपतिमध्ये एक जना पनि सभा सदस्य रहने व्यवस्था छ । उक्त व्यवस्थाअनुसार सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिसमेत रहेका प्रा.डा. हेमराज पन्तलाई सभा सदस्यमा पहिलो बैठकबाटै मनोनीत गरिएको थियो ।
यस्तै, विज्ञतर्फबाट प्रा.डा. जयराज अवस्थी, प्रा.डा. अम्मरराज जोशी, डा. लवदेव अवस्थी, सहप्राध्यापक अनुराधा रोकाया, डा. डम्मरबहादुर पाल, प्रा.डा. संगीताराज भण्डारीलाई पनि सभा सदस्यमा मनोनीत गरिएको थियो । विश्वविदालयका रजिस्ट्रार भने सदस्य सचिव रहने ऐनमा व्यवस्था छ । विश्वविद्यालय सभाको बैठक कम्तीमा चार महिनामा हुनुपर्ने पनि ऐनमा उल्लेख छ ।
विश्वविद्यालयको कुलपति भने प्रधानमन्त्री रहने व्यवस्था छ । विश्वविद्यालयमा चिकित्सा शिक्षा अध्यापनको तयारी भइरहेको छ । आगामी शैक्षिक सत्रदेखि विश्वविद्यालयमा एमबीबीएस, नर्सिङ, बीएस्सी एमएलटी, बी अप्टोमेटरी अध्यापन सुरु हुने बताइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयको ७५ प्रतिशत छात्रवृत्तिको वित्तीय स्रोत सुनिश्चित गरिसकेको छ । आर्थिक वर्ष २०८२/८३ को जेठ र असारका लागि चिकित्सकहरूको तलबबापत पाँच करोड बजेट प्राप्त भएको छ भने आगामी वर्षका लागि माग गरिएको दुई अर्ब ५३ करोड बजेटसमेत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा पेस भएको छ ।



