Paschim Express
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट

धनगढी । चालु आर्थिक वर्ष सुरु भएको झण्डै तीन महिनापछि सुदूरपश्चिम प्रदेश सरकारले बजेट ल्याएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८३/
०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । आइतबार प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले वार्षिक बजेट प्रस्तुत गरेका हुन् ।

बजेटको खर्च व्यहोर्ने स्रोततर्फ प्रदेश सरकारले आन्तरिक राजस्वबाट एक अर्ब ७२ करोड रुपैयाँ जुटाउने लक्ष्य राखेको छ । त्यस्तै, नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडबाट १० अर्ब २४ करोड ९२ लाख ६५ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । मन्त्री मल्लका अनुसार नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानबापत नौ अर्ब छ करोड ३३ लाख रुपैयाँ, समपूरक अनुदानबाट ३८ करोड ८० लाख रुपैयाँ, सशर्त अनुदानबाट छ अर्ब तीन करोड ५८ लाख रुपैयाँ र विशेष अनुदानबाट ५२ करोड ७६ लाख रुपैयाँ प्राप्त हुनेछ । त्यसैगरी, रोयल्टी बाँडफाँडबाट सात करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । प्रदेश सरकारले गत वर्षको बचतबाट नौ अर्ब ६५ करोड रुपैयाँ उपलब्ध हुने अनुमान गरेको छ । तर, वास्तविक बचत भने चार अर्ब ७४ करोड रुपैयाँ मात्रै रहेको छ । अनुमानित र वास्तविक बचतबीचको यो अन्तरले बजेटको स्रोत व्यवस्थापनमा चुनौती देखाएको छ ।

यसअघि प्रदेशसभामा पेस भएका विनियोजन विधेयक र आर्थिक विधेयक फिर्ता लिने प्रस्ताव आइतबारको बैठकबाट स्वीकृत भएपछि नयाँ बजेट प्रस्तुत गरिएको हो । यसअघि नेपाली कांग्रेस नेतृत्वको सरकारले गत असार १ गते ३७ अर्ब ७० करोड रुपैयाँकै बजेट प्रदेशसभामा प्रस्तुत गरेको थियो। तर, बजेटसम्बन्धी विवाद र सरकार परिवर्तनका कारण उक्त बजेट पारित हुन सकेन । यद्यपि, वर्तमान सरकारले पनि अघिल्लो कांग्रेस नेतृत्वको सरकारले प्रस्तुत गरेकै अंको बजेट ल्याएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २५, २०८३  २०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update