Paschim Express
सुदूरपश्चिममा दुई महिनादेखि ‘बजेट होलीडे’, उधारोमा चल्दै सरकारी कार्यालय

धनगढी । सुदूरपश्चिम प्रदेशका मन्त्रालयदेखि सरकारी कार्यालयसम्म दुई महिनादेखि उधारोमा सञ्चालन भइरहेका छन् । प्रदेश सभाबाट चालु आर्थिक वर्षको बजेट पारित हुन नसकेपछि बजेट शून्यताको अवस्था लम्बिँदा कार्यालय सञ्चालनमै समस्या देखिएको हो ।

बजेट अभावमा विकास निर्माणदेखि दैनिक प्रशासनिक कामसम्म प्रभावित भएका छन् ।

कार्यालय सञ्चालनका लागि आवश्यक अत्यावश्यक सामग्रीसमेत उधारोमा खरिद गरेर काम चलाउनुपरेको प्रदेश सभा सचिवालयकी सूचना अधिकारी उपसचिव ताराकुमारी जोशीले बताइन् । 

नेपाली कांग्रेस नेतृत्वको तत्कालीन सरकार अल्पमतमा परेपछि प्रदेश सभाबाट चालु आर्थिक वर्षको बजेट पारित हुन सकेको थिएन । बजेट पारित नभएपछि सुदूरपश्चिममा दुई महिनादेखि ‘बजेट होलीडे’को अवस्था छ । यसअघि आर्थिक वर्ष २०८०/८१ मा पनि बजेट पारित हुन नसक्दा प्रदेशले करिब दुई महिना बजेटविहीनताको अवस्था व्यहोरेको थियो । 

यसपटक भने सरकारले पुरानो बजेट पुनर्लेखन गरेर नयाँ बजेट ल्याउने तयारी गरिरहेको छ । बजेट नहुँदा प्रदेश सरकार मातहतका कर्मचारीले दुई महिनादेखि पारिश्रमिकसमेत पाएका छैनन् ।

प्रदेश सरकारले असोजको दोस्रो सातासम्म नयाँ बजेट प्रदेश सभामा प्रस्तुत गर्ने तयारी अघि बढाएको जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update