Paschim Express
देउवाको गृहजिल्लामा कांग्रेस अधिवेशनबारे अन्योल

धनगढी । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा जिल्ला अधिवेशनमा सहभागी हुने कि नहुने भन्ने विषयमा अन्योल छ ।असोज ३ गतेदेखि सुरु हुने अधिवेशनबारे निर्णय गर्न बिहीबार बसेको बैठकले कुनै निष्कर्ष निकाल्न सकेन । बैठकमा जिल्ला सभापति भीमबहादुर साउदले अधिवेशनसँग सम्बन्धित तीनवटा विकल्प छलफलका लागि प्रस्तुत गरेका थिए ।

पूर्वजिल्ला सभापति कर्ण मल्लका अनुसार सभापति साउदले असोज ३ गतेदेखि हुने अधिवेशनमा सहभागी हुने, देउवा पक्षले आह्वान गरेको अधिवेशनमा सहभागी हुने वा दुवै अधिवेशनमा सहभागी नहुने गरी तीन प्रस्ताव अघि सारेका थिए ।
बैठकमा सहभागी अधिकांश नेताले तत्काल अधिवेशनमा सहभागी नहुने धारणा राखेको मल्लले बताए । उनका अनुसार बैठकमा बोल्ने करिब ८० प्रतिशत नेताले यथास्थितिमा अधिवेशनमा सहभागी नहुने आशय व्यक्त गरेका थिए ।

‘देउवाप्रतिको सम्मान कायम राख्दै यथास्थितिमा अधिवेशनमा सहभागी नहुने निर्णय कांग्रेस डडेल्धुराले गरोस् भन्ने धेरैको अपेक्षा देखियो,’ मल्लले भने ।
अधिवेशनमा सहभागी हुने वा नहुनेबारे अन्तिम निर्णय भने शुक्रबार बस्ने जिल्ला कार्यसमितिको बैठकले गर्ने बताइएको छ । डडेल्धुरा कांग्रेसका निवर्तमान सभापति देउवाको गृहजिल्ला भएकाले त्यहाँको अधिवेशनलाई कांग्रेसभित्र विशेष चासोका साथ हेरिएको छ ।

नेपाली कांग्रेसले असोज ३ र ४ गते वडा अधिवेशन गर्ने कार्यतालिका बनाएको छ । त्यसपछि विभिन्न तहका अधिवेशन सम्पन्न गर्दै असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा १५औँ महाधिवेशन गर्ने तयारी छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update