धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा पनि राजनीतिक दलसँग सम्बन्धित भवन तथा प्रतिष्ठान निर्माणका लागि बजेट छुट्याएको छ। आर्थिक वर्ष सुरु भएको तीन महिनापछि ल्याइएको बजेटमा विभिन्न दलका नामसँग जोडिएका संरचना निर्माणका लागि लाखौँ रुपैयाँ विनियोजन गरिएको हो।
प्रदेश सरकारले नेकपा एमालेसँग सम्बन्धित भवनका लागि मदन–आश्रित स्मृति भवन, नेपाली कांग्रेससँग सम्बन्धित संरचनाका लागि गणेशमान स्मृति भवन र नेपाली कम्युनिस्ट पार्टीमा समाहित भइसकेको साविकको नेकपा एकीकृत समाजवादीसँग सम्बन्धित प्रतिष्ठानका लागि पुष्पलाल स्मृति प्रतिष्ठान शीर्षकमा बजेट छुट्याएको छ।
चालु आर्थिक वर्षको बजेटमा डडेल्धुरा, कैलाली, बाजुरा र अछाममा यस्ता भवन तथा संरचना निर्माणका लागि रकम विनियोजन गरिएको छ। डडेल्धुराको परशुराम नगरपालिका–१२ मा मदन–आश्रित स्मृति भवन निर्माणका लागि १५ लाख रुपैयाँ छुट्याइएको छ। मदन–आश्रित स्मृति भवनकै नाममा एमालेको पार्टी कार्यालय रहेको डडेल्धुरामा उक्त योजना सामाजिक विकास मन्त्रालयअन्तर्गत सामाजिक विकास कार्यालयमार्फत कार्यान्वयन हुने जनाइएको छ।
त्यस्तै, कैलालीको घोडाघोडीमा मदन–आश्रित पुस्तकालय तथा शौचालय निर्माणका लागि १० लाख रुपैयाँ र बाजुराको बुढीनन्दामा मदन–आश्रित भवन निर्माणका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ।
कैलालीको धनगढीमा पुष्पलाल स्मृति प्रतिष्ठान भवन निर्माणका लागि २० लाख रुपैयाँ छुट्याइएको छ। अछामको मंगलसेनमा गणेशमान सिंह सामुदायिक भवन निर्माणका लागि प्रदेश सरकारले २५ लाख रुपैयाँ विनियोजन गरेको छ।
यी पाँचवटा योजनाका लागि मात्रै चालु आर्थिक वर्षमा ८० लाख रुपैयाँ छुट्याइएको छ। राजनीतिक दलका कार्यालय तथा तिनसँग सम्बन्धित भवन र प्रतिष्ठानका नाममा प्रदेश सरकारले बजेट विनियोजन गरेको यो पहिलोपटक भने होइन। पछिल्लो नौ वर्षमा यस्ता शीर्षकमा १५ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन भइसकेको छ।


