Paschim Express
बजेट प्रकरणमा कांग्रेसले फेरि माग्यो मुख्यमन्त्रीसहित मन्त्रीको राजीनामा, सभामुखको भूमिकामा प्रश्न

सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रकरणलाई लिएर नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित मन्त्रीहरूको राजीनामा माग गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा गम्भीर त्रुटि भएको स्वीकार गरिसकेको अवस्थामा नैतिक जिम्मेवारी लिँदै मुख्यमन्त्री र मन्त्रीहरूले तत्काल पदबाट राजीनामा दिनुपर्ने कांग्रेसको निष्कर्ष छ ।

कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको सोमबार बसेको बैठकले बजेट प्रकरणमा मुख्यमन्त्रीसहित मन्त्रीहरूको राजीनामा माग गर्ने निर्णय गरेको हो । यसअघि संसदीय दलका नेता कमलबहादुर शाहले पत्रकार सम्मेलन नै गरेर मुख्यमन्त्री र मन्त्रीको राजीनामा मागेका थिए । आज शाहकै अध्यक्षतामा बसेको बैठकले मुख्यमन्त्री र मन्त्रीको राजीनामा तथा सभामुख भीमबहादुर भण्डारीको भूमिकामाथि प्रश्न उठाएको छ ।

बजेटजस्तो गम्भीर विषयमा प्रतिपक्षविहीन अवस्थामा सदन सञ्चालन गर्ने अभ्यास सभामुखबाटै सुरु भएको कांग्रेसको आरोप छ । अर्थमन्त्रीले बजेट गलत भएको स्वीकार गरिसकेको अवस्थामा पनि प्रतिपक्षसँग छलफल र संवाद नगरी, जानकारीसमेत नदिई बजेट पारित गर्ने प्रक्रिया अघि बढाइएको कांग्रेसको भनाइ छ ।

कांग्रेसका अनुसार सभामुखले संसदीय समिति गठन गर्ने र पूरक बजेट ल्याउने घोषणा गरे पनि बजेटसम्बन्धी निर्णयार्थ प्रस्ताव प्रस्तुत गरिएकाले गैरसंसदीय अभ्यास भएको छ । यस्तो गम्भीर विषयमा सभामुखले आफ्नो पदीय मर्यादा, बजेटको महत्त्व तथा कानुनी र संवैधानिक मूल्यमान्यतालाई पूर्ण बेवास्ता गरेको कांग्रेसको ठहर छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८३  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update