Paschim Express
डडेल्धुरामा सुरु भएन कांग्रेसको अधिवेशन, उपसभापतिले डाके छलफल

धनगढी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि सुरु हुने भनिएको अधिवेशन डडेल्धुरामा अझै सुरु हुन सकेको छैन । अधिवेशनमा सहभागी हुने वा नहुने विषयमा जिल्ला नेतृत्व र नेताहरूबीच सहमति जुट्न नसकेपछि प्रक्रिया अन्योलमा परेको हो ।

अधिवेशनबारे निर्णय गर्न जिल्ला कार्यसमितिले बिहीबार र शुक्रबार  छलफल भएको थियो । तर, सहमति जुट्न सकेन । जिल्ला सभापति भीमबहादुर साउद अधिवेशन गर्ने पक्षमा छन् भने कतिपय नेताहरू पार्टी एकता हुनुपर्ने र यथास्थितिमा अधिवेशन नगर्ने पक्षमा छन् । 

यसैबीच, जिल्ला उपसभापति डिल्लीराज जोशीले आज १ बजे छलफल बोलाएका छन् । जिल्ला कार्यसमितिका सम्पूर्ण सदस्य, महासमिति तथा महाधिवेशन प्रतिनिधि, प्रदेश समिति सदस्य, क्षेत्रीय सभापति, पालिका तथा वडा सभापति, जनप्रतिनिधि र भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधिलाई छलफलमा उपस्थित हुन आग्रह गरिएको छ । 

१५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने तथा डडेल्धुरा कांग्रेसलाई पनि एकताबद्ध बनाउने विषयमा छलफल गरिने उल्लेख बताइएको छ ।

केन्द्रीय तहमा पनि महाधिवेशनलाई लिएर दुई धारबीच विवाद देखिएको छ । पूर्वसभापति शेरबहादुर देउवाले असोज ३ गतेदेखि सुरु हुने अधिवेशन प्रक्रियामा सहभागी नहुन आग्रह गरेका छन् । 

डडेल्धुरा देउवाको गृहजिल्ला हो । यसैबीच नवदुर्गा, आलिताल र गन्यापधुराको गाउँ कार्यसमितिले आजदेखि सुरु हुने अधिवेशनमा सहभागी नहुन आग्रह गरेका छन् ।

प्रकाशित मिति: शनिबार, असोज ३, २०८३  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update