Paschim Express
कर्ण मल्लले गरे कांग्रेस अधिवेशन बहिष्कारको घोषणा

धनगढी । डडेल्धुरा कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रदेशसभा सदस्य कर्णबहादुर मल्लले अधिवेशन बहिष्कार गर्ने घोषणा गरेका छन् । जिल्ला समितिले आयोजना गरेको बिहीबारको छलफलमा अधिकांश नेताहरू यथास्थितिमा अधिवेशनको पक्षमा नरहेको दाबी गर्दै मल्लले एकलौटी रूपमा अधिवेशनको प्रक्रिया अघि बढाइएको आरोप लगाएका छन् ।

मल्लले जारी गरेको अपिलमा कांग्रेसभित्र देखिएको विभाजन र विवादको अवस्थामा अधिवेशन अघि बढाउँदा पार्टी झनै कमजोर बन्ने उल्लेख गरेका छन् । उनका अनुसार डडेल्धुराका जिल्ला, स्थानीय तह र अधिकांश वडा कार्यसमितिले समेत अधिवेशन स्थगित गर्न माग गरिरहेका छन् ।

उनले अहिले अधिवेशन सम्पन्न गर्नुभन्दा पार्टी एकता जोगाउन नेतृत्व केन्द्रित हुनुपर्ने बताएका छन् । विगतका विवाद र प्रक्रियागत कमजोरीबाट पाठ सिक्दै उपयुक्त विकल्प खोज्न आग्रह गर्दै मल्लले यथास्थितिमा अधिवेशन सम्पन्न गरिए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित नेतृत्वले लिनुपर्ने चेतावनी दिएका छन् ।

मल्लले आफू पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट गर्दै पूर्वसभापति शेरबहादुर देउवासहितको सहभागितामा अधिवेशन गर्ने वातावरण बनाउन दबाब सिर्जना गर्नुपर्ने बताएका छन् । उनले कांग्रेसलाई एकताबद्ध बनाउन सबै नेता–कार्यकर्तालाई दृढतापूर्वक उभिनसमेत आग्रह गरेका छन् ।

प्रकाशित मिति: शनिबार, असोज ३, २०८३  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update