Paschim Express
बैतडीमा झाडापखालाबाट बालिकाको मृत्यु

बैतडी । बैतडीमा झाडापखालाका कारण एक बालिकाको मृत्यु भएको छ । जिल्लाको डिलासैनी गाउँपालिका-४ जोखल्लीका सुरेन्द्र बहादुर रोकायाकी १३ वर्षीया छोरी आरतीको झाडापखालाका कारण मृत्यु भएको हो ।

बिहान करिब ५ बजेतिर घरमै आरतीको मृत्यु भएको स्थानीय भरत नेगीले जानकारी दिए । झाडापखाला लागे पनि उनलाई स्वास्थ्य चौकी भने लगिएको थिएन।

डलासैनी–४ स्थित हाडाकोट स्वास्थ्य चौकीका इन्चार्ज बिरेन्द्र बोहराका अनुसार झाडापखालाका कारण उनको मृत्यु भएको हुनसक्ने बताए। यस विषयमा जाँचबुझको लागि स्वास्थ्य संस्थाको टोली मृतक आरतीको घरतर्फ गइरहेको छ ।

घरका अर्क एक सदस्यलाई पनि यस्तै लक्षण देखिएको जानकारी पाएको स्वास्थ्य चौकी इन्चार्ज बोहराले बताए । महेश्वरी मावि न्वाघरमा कक्षा ८ मा पढ्दै गरेकी आरतीको मृत्यु पछि अहिले जोखल्ली गाउँ शोकमा डुबेको छ ।

मृतकका बुवा सुरेन्द्रबहादुर रोकाया रोजगारीका लागि भारतमा रहेको र छोरीको निधनको खबर पाएपछि घर फर्किन लागेका छन् ।

प्रकाशित मिति: सोमबार, साउन २७, २०८२  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update