 
                                                                    धनगढी । डोटीमा एक शिक्षिका मृत फेला परेकी छिन् । जिल्लाको पुर्वीचौकी गाउँपालिका– १ की २७ वर्षीया जानकी खड्का मृत फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार खड्का घर नजिकै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । घटनाको अनुसन्धानका लागि शिक्षा समन्वय इकाई डोटीमा कार्यरत शिक्षा अधिकृत गणेश रावललाई पक्राउ गरिएको प्रहरी निरीक्षक जोशीले बताए ।
‘घटनाको अनुसन्धान भइरहेको छ,’ प्रहरी निरीक्षक जोशीले भने, ‘रावलमाथि आत्महत्या दुरुत्सानमा अनुसन्धानको माग भएको छ ।’ रावलमाथि खड्कालाई आत्महत्या गर्न बाध्य पारिएको आरोप लागेको छ ।
मृतक खड्का बाजुरको बुढीगंगा नगरपालिका– ५ मा रहेको भानोदय माविमा कार्यरत शिक्षिका थिइन् । त्यसअघि डिस्कभरी स्कुल धनगढीमा कार्यरत रहेकी खड्का शिक्षक सेवा आयोगमा नाम निकालेर स्थायी नियुक्ति लिएकी थिइन् । मृतक खड्का अविवाहित हुन् भने पक्राउ परेका रावलले विवाहपछि सम्बन्ध विच्छेद गरिसकेका छन् ।
सुुसाइड नोट बरामद, के लेखिएको थियो ?
खड्काको कोठामा मोबाइलको कभर पछाडि लेखिएको सुसाइड नोट फेला परेको प्रहरीले जनाएको छ। त्यो नोटमा उनले आफूलाई मानसिक रूपमा फसाएको र सामाजिक इज्जतका कारण यस्तो निर्णय लिन बाध्य भएको उल्लेख गरेकी छन्।
“अहिलेसम्म ड्याडी मम्मीको इज्जत सम्झेर बसेकी म आज जिन्दगीले अनौठो मोडमा ल्याइदियो। गणेश रावलले आफैं फ्रेन्ड रिक्वेस्ट पठाएको हो, न मैले देखेकी छु, न भेटेकी छु — सबै उसका नाटक हुन् मलाई फसाउने।”
उनले आफ्नो परिवारलाई सम्बोधन गर्दै लेखेकी छन्, “मेरो आयु यति रहेछ। बाबाआमाको इज्जत गुमाएर, तिमीहरुलाई नराम्रो संस्कार सिकाएर कसैको श्रीमान र बुवा भइसकेको मान्छेसँग जीवन जीउन सक्दिन।”जानकीले सुसाइड नोटमा भाइलाई बिरामी आमाबुवाको राम्रोसँग हेरचाह गर्न, खराब संस्कारबाट टाढा रहन र आफ्नै सपना पूरा गर्न आग्रह गरेकी छन्। उनले बैंकिङ तथा अन्य आर्थिक विवरणसमेत उल्लेख गरी परिवारलाई व्यवस्थापन गर्न सहज बनाइदिएकी थिइन्।








 
                                                 
                                                