डडेल्धुरा । लोकतान्त्रिक निर्माण व्यवसायी संघ, डडेल्धुराले जिल्लामा सञ्चालित विकास निर्माण आयोजनामा बजेट रोक्का भइरहेको भन्दै आवश्यक छलफल तथा रणनीति तय गर्न सर्वपक्षीय भेला बोलाउने निर्णय गरेको छ।
संघका अध्यक्ष दुर्लभ सिंह झुकालको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक वर्ष २०८२/०८३ मा डडेल्धुरा जिल्लाअन्तर्गत संघीय तथा प्रदेश सरकारबाट विनियोजित र बोलपत्र प्रक्रिया अघि बढिसकेका योजनाहरू रोकिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।
बैठकले बजेट रोक्का सम्बन्धी समस्याबारे सरोकारवाला निकाय, जनप्रतिनिधि तथा निर्माण व्यवसायीसहितको व्यापक छलफल आवश्यक ठहर गर्दै कात्तिक १८ गते दिनको ११ बजे निर्माण व्यवसायी संघ, डडेल्धुराको सभाहलमा सर्वपक्षीय भेला गर्ने निर्णय गरेको हो।
संघले उक्त भेलाले जिल्लाका अवरुद्ध विकास परियोजनाहरू छिटो सुचारु गर्न दबाबमूलक कदमका बारेमा पनि अन्तिम निर्णय लिने जनाएको छ।







