लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालयहरुले आजदेखि भोलि बिहानसम्म जिल्लाभर सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएका छन् ।
मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले डडेल्धुरा, बैतडी र दार्चुला जिल्लामा अधिक वर्षाको जोखिममा रहेका जिल्लाका रूपमा चित्रण गर्दै सतर्कता अपनाउन आग्रह गरेपछि तीन जिल्ला प्रशासनले सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन नगर्न आग्रह गरेका हुन् ।
डडेल्धुरामा शुक्रबार दिउँसोदेखि वर्षा भइरहेको छ । यस्तै बैतडीमा गएरातिदेखि लगातार वर्षा भइरहेको छ । तीनै स्थानीय प्रशासनले लामो तथा छोटो दूरीका सबै सवारीसाधन नचालाउन यातायात व्यवसायी एवं सर्वसाधारणलाई आग्रह गरेका छन् ।
दार्चुला ‘अति जोखिम’ वर्गमा रहेकाले सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


