डडेल्धुरा — भागेश्वर गाउँपालिका–४ बगरकोटमा ७ करोड रुपैयाँ लागतमा अत्याधुनिक सुविधासहितको स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको छ । गाउँपालिकाले जर्मन विकास बैंकको वैदेशिक ऋण अनुदानमा नयाँ भवन निर्माणको पहल गरेको हो ।
बगरकोटस्थित पुरानो स्वास्थ्य चौकी भवन जीर्ण भई चुहिने अवस्थामा पुगेकाले सेवा सञ्चालनमा समस्या बढ्दै गएको थियो । धनगढीस्थित उच्चाकोटी निर्माण सेवा प्रालिले उक्त भवन निर्माणको जिम्मा पाएको थियो । भ्याटसहित कुल लागत ७ करोड १७ लाख रुपैयाँ रहेको यस योजनाको सम्झौता २०८० फागुन ७ गते गरिएको थियो ।
२०८२ साउन ४ गतेभित्र निर्माण सक्ने म्याद तोकिएको भए पनि केही प्राविधिक कठिनाइका कारण काम केही पछाडि परेको ठेकेदार कम्पनीले जनाएको छ । कम्पनीले अबको दुई साताभित्र आयोजनालाई भवन हस्तान्तरण गर्ने तयारी गरेको छ । त्यसपश्चात् आयोजनाले पालिकालाई भवन हस्तान्तरण गर्ने छ ।
भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौतका अनुसार नयाँ भवन सञ्चालनमा आएपछि बगरकोट र आसपासका बासिन्दाले स्वास्थ्य उपचारका लागि टाढा जानुपर्ने अवस्था अन्त्य हुनेछ । ‘यहाँ सम्भव भएसम्म एमबीबीएस चिकित्सकसहितको दक्ष जनशक्ति परिचालन गरी सेवा विस्तार गर्ने योजना बनाइरहेका छौं,’ उनले भने, ‘यसले भागेश्वर मात्र नभई छिमेकी पालिकाका जनतालाई समेत सेवा पुर्याउने अपेक्षा छ । ’
तर, उनले संघीय सरकारको खर्च कटौती नीतिका कारण स्थानीय तहका स्वास्थ्यकर्मी कटौती हुने अवस्था सिर्जना भएको भन्दै यसले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा प्रभावित पार्ने सम्भावना रहेको पनि बताए । शिक्षा, स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रमा कर्मचारी अभाव गम्भीर समस्या बन्न सक्ने उनले उल्लेख गरे । गाउँपालिकाले स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि ग्रामीण क्षेत्र रूपालमा १० शय्याको अस्पताल निर्माणको कार्य पनि अगाडि बढाएको अध्यक्ष चटौतले बताए ।
भवन बनेसँगै स्वास्थ्य सेवा गुणस्तरीय र सहज हुनुपर्नेमा स्थानीयले जोड दिएका छन् । ‘विगतमा स्वास्थ्यकर्मी र औषधि अभावका कारण सामान्य उपचारका लागि पनि सदरमुकाम वा बाहिरी सहर धाउनुपर्ने बाध्यता रहँदै आएको छ । नयाँ भवनले त्यस बाध्यताको अन्त्य गर्ने आशा छ,’ बगरकोटका स्थानीय रमेशप्रसाद पन्त भने । उनले जनशक्ति अभावको समस्या यथावत् रहे गुणस्तरीय सेवा पाउन कठिन हुने पनि बताए ।
स्थानीय रेखा पन्तले ग्रामीण क्षेत्रमा महिला विशेषज्ञ चिकित्सकको आवश्यकता औंल्याउँदै महिला स्वास्थ्य समस्यामा विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गरिन् । उनले स्वास्थ्य चौकीमा महिला विशेषज्ञ चिकित्सक भए यहाँका महिलाले उपचारमा सहजता पाउने बताइन् ।






