Paschim Express
चार महिनादेखि तलब नपाएपछि डडेल्धुरा अस्पतालका कर्मचारी ऋणको चपेटामा

डडेल्धुरा । सुदूरपश्चिमका ७ पहाडी जिल्लाको स्वास्थ्य उपचारको मुख्य केन्द्रका रूपमा रहेको डडेल्धुरा अस्पतालको सेवा अवस्था पछिल्लो समयमा झन् दयनीय बन्दै गएको छ। पाँच महिनादेखि ठुलो एक्सरे मेसिन बिग्रिएर ठप्प हुँदा बिरामीहरू उपचारका लागि धनगढीसम्म धाउन बाध्य भएका छन्, भने कर्मचारीहरू तलब नपाएर ऋण र जरिवानाको मारमा परेका छन्।

अस्पतालमा दुईवटा एक्सरे मेसिनमध्ये सानो मेसिन मात्र सञ्चालनमा रहेको र त्यसबाट हातखुट्टा भाँचिएको सामान्य एक्सरे मात्र गर्न सकिने अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुधा देवकोटाले बताइन्। ठुलो एक्सरे मेसिन बिग्रिएपछि ढाड, घाँटी, कम्मरलगायत जटिल खालका एक्सरे हुन नसकेर बिरामीहरूलाई निजी अस्पताल वा धनगढी रेफर गर्नुपर्ने बाध्यता आएको छ।

स्थाननीयका अनुसार संघीय अस्पतालका नाममा चिनिने डडेल्धुरा अस्पतालमा सेवा सुविधा स्वास्थ्य चौकीभन्दा पनि कमजोर छ।

मेसिन पुरानो हुँदा पटक–पटक बिग्रिँदै आएको र यसपालि मर्मत गर्न नसकिएपछि नयाँ मेसिन खरिदका लागि टेण्डर प्रक्रिया सुरु भइसकेको डा. देवकोटाले बताइन्।

तर अस्पतालको व्यवस्थापन झन् अस्तव्यस्त बन्दै गएको छ। मेसु (अस्पताल प्रमुख) डा. देवकोटा दशैंअघि अस्पतालबाट बाहिरिएकी थिइन्। अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाका अनुसार मेसु भारत उपचारका लागि गएकी भनिए पनि केही कर्मचारीले भने उनी तिहारपछि अस्ट्रेलिया भ्रमणमा गएको बताएका छन्।

यसबीच, अस्पतालका कर्मचारीहरू आर्थिक संकटमा परेका छन्। ४ महिनादेखि तलब भुक्तानी नभएछि उनीहरू ऋण र जरिवानाको चपेटामा परेका छन्।

एक कर्मचारीले गुनासो गर्दै भने, “हामीमध्ये धेरैले ऋण लिएका छौँ, तलबकै भरमा मासिक किस्ता तिर्नुपर्छ। तलब नआएपछि उल्टै जरिवाना तिर्नुपर्ने अवस्था छ। तिहारजस्तो ठूलो चाड पनि अरूँगै ऋण मागेर मनाउनु परेको छ।”

संघीय सरकार मातहत रहेको डडेल्धुरा अस्पताल नेपालका ११ संघीय अस्पतालमध्ये तेस्रो नम्बरको अस्पतालका रूपमा चिनिए पनि सेवा, व्यवस्थापन र कर्मचारी अवस्थाको दुर्गति हेर्दा स्वास्थ्य प्रणालीकै कमजोरी उजागर भएको स्थानीयवासीहरूको टिप्पणी छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २८, २०८२  १२:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update