डोटी । सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय दिपायल, डोटीको आयोजनामा आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न स्वास्थ्य कार्यक्रमहरूको प्रदेशस्तरीय एकीकृत वार्षिक स्वास्थ्य समीक्षा गोष्ठी शुक्रबार डोटीको राजपुरमा सुरु भएको छ। उक्त कार्यक्रमको उद्घाटन सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले गरिन्।
३ दिनसम्म सञ्चालन हुने कार्यक्रममा प्रमुख अतिथि राज्यमन्त्री खड्काले स्वास्थ्य क्षेत्रले पछिल्ला वर्षमा महत्वपूर्ण उपलब्धि हासिल गरे पनि धेरै चुनौती कायम रहेको बताइन्। विशेषगरी बर्थिङ सेन्टरहरूका भौतिक संरचना बने पनि सञ्चालन नहुनु चिन्ताको विषय भएको भन्दै यसतर्फ तत्काल ध्यान दिन आग्रह गरिन्।
योजनाको खरिद–बिक्रीमा अनियमितता भएको गुनासो बढ्दै गएको उल्लेख गर्दै उनले प्रमाणसहित प्रदेश सरकारलाई जानकारी गराइदिन सहभागीहरूलाई आग्रह गरिन्। स्वास्थ्यचौकी तथा अस्पतालमा औषधि र आवश्यक सामग्री अभावका कारण सेवा प्रभावकारी रूपमा दिन नसकिएको जनाउँदै यसको व्यवस्थापन सुधार गर्नुपर्नेमा राज्यमन्त्री खड्काले जोड दिइन्।
३ दिनसम्म चल्ने यस गोष्ठीमा सुदूरपश्चिमप्रदेशको समग्र स्वास्थ्य अवस्था, नीति–कार्यक्रम, ९ वटै जिल्लाको प्रगति तथा आगामी वर्षका योजनाबारे विस्तृत छलफल हुने स्वास्थ्य निर्देशनालय डोटीका स्वास्थ्य निर्देशक खगेन्द्र बमले जानकारी दिए। गोष्ठीको अन्त्यमा "दिपायल घोषणा पत्र" जारी गरिनेछ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सबै ९ जिल्लाका स्वास्थ्य कार्यालय, अस्पताल र जिल्ला आयुर्वेदिक कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको छ।






