धनगढी । सुदूरपश्चिममा चिकित्सक संख्या न्यून छ । सरकारले पठाएका चिकित्सक पनि सितिमिति यहाँ बस्दैनन् । जसका कारण रेफरल अस्पतालमा पनि विशेषज्ञ चिकित्सकको अभाव छ ।
चिकित्सक अभावको समस्या झेल्दै आएको सुदूरपश्चिममा प्रदेश सरकारले हरेक वर्ष नौ जनाका दरले छात्रवृत्ति दिएर चिकित्सा शास्त्र संकायतर्फ स्नातक (एमबीबीएस) अध्यापन गराइरहेको छ । एमबीबीएस अध्ययनमा लाग्ने सम्पूर्ण शुल्क प्रदेश सरकारले छात्रवृत्तिका रूपमा तिर्ने गरेको छ ।
हालसम्म ५३ जनालाई प्रदेश सरकारले छात्रवृत्तिमा अध्ययन गराइरहेको छ । अध्ययनरत ३५ जनामध्ये २७ छात्र र आठ छात्रा छन् । उनीहरू मुलुकका विभिन्न मेडिकल कलेजहरूमा अध्ययनरत छन् । एमबीबीएस अध्ययन पूरा गरेपछि उनीहरूले दुई वर्ष अनिवार्य रूपमा प्रदेशमै सेवा गर्नुपर्ने सर्त छ ।
पहिलो ब्याचका नौ जना भने आगामी वर्षको असारदेखि सेवामा आउने भएका छन् । प्रदेश सरकारले २०७८ मा एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति सुरु गरेपछि कैलालीका सुशान्त बडुवाल, अछामका विकास बोगटी, डडेलधुराकी भावना भट्ट, दार्चुलाका रमेशराज भट्ट, डोटीकी आराधना देउवा, बझाङकी प्रतिभा जोशी, बैतडीका दिलबहादुर भण्डारी, दार्चुलाका सुवास सिंह चैसिर र बाजुराका प्रवेश शाह छनोट भएका थिए । उनीहरु अध्ययन पूरा गरी असारदेखि प्रदेशका स्वास्थ्य संस्थामा सेवा गर्न सुरु गर्ने बताइएको छ ।
छात्रवृत्ति प्राप्त गर्न प्रदेश सरकारले निश्चित मापदण्ड बनाएको छ । छात्रवृत्तिका लागि आवेदकहरूबाट मूल्यांकनमा उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई सामाजिक विकास मन्त्रालयले छनोट गर्ने गरेको हो । छनोटको निर्देशिकामा छात्रवृत्ति प्राप्त गर्नका लागि चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण भएको हुनुपर्ने र सुदूरपश्चिममै स्थायी बसोबास भएको हुनुपर्ने नियम बनाइएको छ । शैक्षिक पृष्ठभूमिको मापदण्डमा भने सामुदायिक, सार्वजनिक गुठी, निजी गुठी र निजी विद्यालयमा कक्षा आठ, एसईई र प्लस टु अध्ययन गरेको, सुदूरपश्चिममा अध्ययन गरेको, प्रदेश बाहिरका विद्यालयमा अध्ययन गरेको, प्राप्ताङ्कलगायतका मापदण्डमा बेग्लाबेग्लै अंकभार निर्धारण गरिएको छ । सुरुका चार वटा ब्याचमा समावेशी कोटा प्रणाली नभएकामा पछि निर्देशिका परिवर्तन गरेर पाँचौं ब्याचदेखि समावेशी कोटा निर्धारण गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयले एमबीबीएस अध्ययन गरिसकेपछि पहिलो ब्याचले तीन वर्ष र त्यसपछिका ब्याचले दुई वर्ष सुदूरपश्चिमका सरकारी अस्पतालमा सेवा गर्नुपर्ने नियम बनाइएको छ ।
एमबीबीएस अध्ययन गरिरहेका ५३ जना छात्रछात्रामा कैलालीका सबैभन्दा धेरै १३ जना छन् । जसमध्ये १० छात्र र तीन छात्रा छन् । कैलालीका स्तुति मिश्र, सरस्वती ओझा, पूर्णिमा बीसीसहित राहुल नेपाली, प्रज्वल विनाडी, यमन ओझा, विशाल डगौरा, आर्यान दहाल, सौरभ चौधरी, सुशान्त बडुवाल, प्रवीण देवकोटा, सन्देश पौडेल र रोहितराज भट्टले प्रदेश सरकारको छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका हुन् । पूर्ण छात्रवृत्ति पाउनेमा बझाङका ११ जना छन् । जसमा नवीना बोहरा, प्रतिभा जोशी, अभिशेष जोशी, दीपेश पण्डित, मिलन जोशी, अरुण गिरी, नगेन्द्र उपाध्याय, मुकुन्द मिश्र, नारायण उपाध्याय, दिनेश जोशी र सञ्जय मिश्र रहेका छन् ।
दार्चुलाबाट आरोही भण्डारी, प्रीति कार्की, सौरभ पन्त, महेन्द्रसिंह धामी, रमेशराज भट्ट, सुवास सिंह चैसिर, वीरेन्द्रसिंह बडाल र अनुप अवस्थी पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढिरहेका हुन् । कञ्चनपुरबाट रेखा जोशी, प्रकृति जोशी, भावना जोशी, सन्देश जोशी, गौरव जोशी, नीरञ्जन मिश्र र आयुष जोशी छन् भने डोटीबाट आराधना देउवा, दीप उपाध्याय, दीपक कापडी र जनकराज जोशी अध्ययनरत छन् । अछामबाट गोकर्ण भण्डारी, विकास बोगटी र भूपेन्द्र भण्डारी रहेका छन् । बाजुराका तीन जना नितेशकुमार धामी, अभिशेष महतारा र प्रवेश शाह हुन् । बैतडीका हरिशप्रसाद भट्ट र दिलबहादुर भण्डारी हुन् भने डडेलधुराबाट भावना भट्ट र भीम बोहरा पूर्ण छात्रवृत्ति पाएर एमबीबीएस अध्ययन गरिरहेका विद्यार्थी हुन् ।




