Paschim Express
डडेल्धुरामा रनिङ शिल्ड जारी, यी खेलाडी र प्रशिक्षक सम्मानित

धनगढी । डडेल्धुरामा जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी छ । जिल्ला सदरमुकामस्थित टुँडिखेलमा बुधबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले गरेकी थिइन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै राज्यमन्त्री खड्काले डडेल्धुरा खेलकुदको उर्वर भूमि भएको बताइन् । खेलकुदमा अनुशासनको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै उनले सबै खेलाडीलाई अनुशासित ढंगले प्रतियोगितामा सहभागी हुन आग्रह गरिन् ।

कार्यक्रममा जिल्ला खेलकुद समितिका अध्यक्ष जगत एरका अनुसार प्रतियोगितामा जिल्लाका सात वटै स्थानीय तहको सहभागिता रहेको छ । छात्रछात्रा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँतेलगायत विभिन्न विधाका खेल समावेश गरिएको प्रतियोगिता बिहीबारसम्म सञ्चालन हुनेछ । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन पाउने छन् । 

यसैबीच प्रतियोगिताको उद्घाटनमा डडेल्धुराका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाएका खेलाडी तथा प्रशिक्षकहरूलाई नगदसहित सम्मान गरिएको छ ।

सम्मानित हुनेहरूमा ओलम्पियन सरस्वती भट्टराई, राष्ट्रिय गोल्ड मेडल विजेता प्रशिक्षक नरेश थापा, दीपेन्द्र देउवा, नेपाली राष्ट्रिय भलिबल टोलीका पूर्वखेलाडी भैरव बम र सुरेन्द्र बम, अन्डर–२३ राष्ट्रिय भलिबल टोलीका सदस्य सन्तोष खत्री, अन्डर–१६ राष्ट्रिय टोलीका सदस्य सचिन मल्ल तथा जुनियर एथलेटिक्सतर्फ राष्ट्रिय गोल्ड मेडल विजेता बिक्रम नाथ रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३१, २०८३  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update