
डडेल्धुरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टविरुद्ध आन्तरिक विवाद चुलिएको छ। प्रदेशका ९ वटै जिल्ला सभापतिहरूले संयुक्त रूपमा प्रदेश इन्चार्ज हरि ढकाललाई ध्यानाकर्षणपत्र बुझाउँदै विष्टमाथि कारबाहीको माग गरेका हुन्।
प्रदेश इन्चार्जलाई बुझाइएको दुई फरक पत्रमार्फत जिल्ला सभापतिहरूले विष्टको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। उनीहरूले ‘राइट टु रिकल’को आधारमा विष्टलाई जिम्मेवारीमुक्त गर्न माग गरेका छन्।
ध्यानाकर्षणपत्रमा विष्टले आन्तरिक छलफलबिना एकलौटी रूपमा पदाधिकारी हटाउने र नियुक्त गर्ने, नक्कली हस्ताक्षर संकलन गर्ने, झुटा प्रतिवेदन दिने, र संगठनमा गुटबन्दीको वातावरण सिर्जना गर्ने जस्ता गम्भीर आरोप लगाइएको छ।
यद्यपि, केही हस्ताक्षरकर्ता सभापतिहरूले कारबाहीको होइन, सुधारको उद्देश्यले ध्यानाकर्षणपत्र बुझाइएको दाबी गरेका छन्। अछामका सभापति ओमप्रकाश रावल र कैलालीका सभापतिले हस्ताक्षरको गलत उपयोग भएकोप्रति असन्तुष्टि जनाउँदै विज्ञप्ति निकाल्ने तयारीमा रहेको बताएका छन्।
प्रदेश इन्चार्ज हरि ढकालले भने विष्टविरुद्ध कारबाहीको आवश्यकता नरहेको जनाउँदै विषयलाई सामान्य असहमति र आन्तरिक समन्वयको कमजोरीका रूपमा व्याख्या गरेका छन्। विष्ट आफैं विज्ञ र क्षमतावान व्यक्ति भएको उल्लेख गर्दै उनले संगठनलाई सहमति र समन्वयका साथ अगाडि बढाउनुपर्ने बताएका छन्।