
डडेल्धुरा । डडेल्धुरा जिल्लामा आजदेखि जिल्ला स्तरीय १६ वर्षमुनिका क्रिकेट खेलाडीबीचको छनाेट प्रतियोगिता सुरु भएको छ। प्रतियोगिता सुदूरपश्चिम क्रीकेट संघ र डडेल्धुरा क्रीकेट संघको संयुक्त आयोजनामा टुडिखेल मैदानमा सुरु गरिएको हो।
प्रतियोगिताको उद्घाटन डडेल्धुरा क्रीकेट संघका सचिव निरज रावलको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा डडेल्धुरा खेलकुद विकास समितिका अध्यक्ष डम्बर थापा उपस्थित थिए। बिशिष्ट अतिथिका रूपमा सुदूरपश्चिम क्रीकेट संघका अध्यक्ष वासुदेव जोशी सहभागी थिए।
प्रतियोगितामा डडेल्धुरा जिल्लाका विभिन्न स्थानबाट १६ वर्षमुनिका ६६ जना खेलाडीहरूको सहभागिता रहेको छ। उद्घाटन समारोहमा बोल्दै अध्यक्ष थापाले डडेल्धुराबाट राष्ट्रिय टोलीसम्म पुगेका खेलाडीहरूको चर्चा गर्दै अन्य खेलाडीहरूलाई पनि मेहनत, लगनशीलता र अनुशासनमा ध्यान दिन आग्रह गरे।
अध्यक्ष जोशीले डडेल्धुरामा राम्रो खेल मैदानको अभावले खेलकुद गतिविधिमा समस्या आइरहेको गुनासो व्यक्त गर्दै क्रिकेटमा उज्वल भविष्य रहेकोले निरन्तर प्रयास गर्न खेलाडीहरूलाई प्रेरणा दिनुभयो।
उक्त छनाेट प्रतियोगिता लिग प्रणालीमा सञ्चालन हुनेछ र खेलहरू २० ओभरको हुनेछन्। बैशाख ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत उत्कृष्ट १४ जना खेलाडीहरू छनाेट गरी डडेल्धुराको अन्डर–१६ क्रिकेट टोली घोषणा गरिने डडेल्धुरा क्रीकेट संघका सचिव निरज रावलले जानकारी दिए।
यस प्रतियोगिताको विशेष आकर्षण बनेकी छन् डडेल्धुरामा पहिलो महिला अम्पायरका रूपमा उभिएकी गौरी बोहरा। उनले यस प्रतियोगितामा अम्पायरिङ गर्दै इतिहास रचेकी हुन्।