
डडेल्धुरा । डडेल्धुरा जिल्लामा आयोजित जिल्ला स्तरीय यू-१६ क्रिकेट छनोट प्रतियोगिता सोमबार सम्पन्न भएको छ। टुडिखेल मैदानमा सम्पन्न उक्त प्रतियोगितामा किङ ११ अमरगढी किल्ला विजेता बनेको छ भने जयबाबा घटाल राईडर उपविजेता बन्न सफल भयो।
प्रतियोगितामा विभिन्न स्थानबाट सहभागी भएका १६ वर्षमुनिका ६६ खेलाडीहरूबीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूमध्ये आलिताल गोर्खाजका कप्तान मान साउद उत्कृष्ट खेलाडी घोषित भए। यस्तै, विशाल कार्की उत्कृष्ट ब्याट्सम्यान र आयुष ऐर उत्कृष्ट बलर घोषित भए।
प्रतियोगिता सुदूरपश्चिम क्रीकेट संघ र डडेल्धुरा क्रीकेट संघको संयुक्त आयोजनामा भएको हो। समापन कार्यक्रम डडेल्धुरा क्रीकेट संघका अध्यक्ष हरि उप्रेतीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा सुदूरपश्चिम क्रीकेट संघका अध्यक्ष वासुदेव जोशी प्रमुख अतिथि रहेका थिए।
समापन समारोहमा बोल्दै प्रमुख अतिथि जोशीले भलिया चौडमा निर्माणाधीन खेल मैदान चाँडै सम्पन्न गर्न सबैलाई सहयोग गर्न आह्वान गरे। साथै, क्रिकेटमा उज्वल भविष्य रहेको उल्लेख गर्दै उनले खेलाडीहरूलाई निरन्तर मेहनत गर्न प्रेरणा दिए।
बैशाख २५ गतेदेखि सञ्चालन भएको उक्त छनोट प्रतियोगिताबाट छानिएका १८ उत्कृष्ट खेलाडीलाई क्लोज क्याम्पमा राखेर अन्तिम टोली छनोट गरी डडेल्धुराको यू-१६ क्रिकेट टोली घोषणा गरिने अध्यक्ष उप्रतीले जानकारी दिए।