डडेल्धुरा । गन्यापधुरा गाउँपालिका डडेल्धुराले करिब एक करोड रुपैयाँको लगानीमा पालिकास्तरीय खेलमैदान निर्माणको काम अघि बढाएको छ।
गन्यापधुरा–२ स्थित टाउरडाँडामा निर्माण भइरहेको खेलमैदानबारे जानकारी दिँदै गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले यसले स्थानीय युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे।
"जिल्लामा एउटा पनि स्तरीय खेलमैदान नभएको अवस्थामा यो मैदानलाई जिल्लाकै नमूना बनाउने उद्देश्य रहेको छ," अध्यक्ष कार्कीले भने, "यो मैदान क्रिकेट खेल्न पनि उपयुक्त हुनेछ।"
खेलमैदानको अभावले विभिन्न खेलकुद गतिविधिहरू प्रभावित हुँदै आएको बताउँदै उनले निर्माणाधीन मैदानले भविष्यमा जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगितासमेत आयोजना गर्न सक्ने आधार तयार पार्ने उल्लेख गरे।