
डडेल्धुरा । सीमित स्रोतसाधनका बाबजुत डडेल्धुरामा खेलकुद प्रतिभा पहिचान र प्रोत्साहनका लागि जिल्लास्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरिएको छ। अमरगढी नगरपालिका–४ स्थित टुँडिखेलमा मंगलबारदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका सातै स्थानीय तहका खेलाडीहरूको सहभागिता छ।
प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले गरे। उनले डडेल्धुरा ‘खेलकुदको उर्वर भूमि’ भएको उल्लेख गर्दै, प्रतिस्पर्धामा अनुशासन र खेलभावना कायम राख्नुपर्नेमा जोड दिए।
जिल्ला खेलकुद समितिका अध्यक्ष डम्बरबहादुर थापाले सीमित स्रोतमा पनि स्तरीय प्रतियोगिता सञ्चालन गरिएको बताए। उनले टिम छनोट गर्दा उत्कृष्ट खेलाडीलाई न्यायपूर्वक अवसर दिन रेफ्री र अम्पायरलाई निर्देशन दिए।
प्रतियोगितामा छात्रछात्रा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँतेलगायतका खेलहरू समावेश छन्। दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताबाट छानिएका उत्कृष्ट खेलाडीले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुन पाउनेछन्।
यो प्रतियोगिता स्थानीय युवा प्रतिभालाई उजागर गर्ने अवसरमात्र होइन, प्रदेश र राष्ट्रिय स्तरमा डडेल्धुरा प्रतिनिधित्व गराउने मार्ग पनि हो।