
डडेल्धुरा । अमरगढी नगरपालिकाले डडेल्धुरा जिल्लास्तरीय १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको छ। अमरगढी–४ टुँडिखेलमा सम्पन्न प्रतियोगितामा १९ स्वर्ण, १६ रजत र १२ कास्य जित्दै अमरगढीले शिल्ड उचालेको हो।
प्रतिस्पर्धात्मक नतिजाबीच परशुराम नगरपालिका दोस्रो स्थानमा रह्यो। उसले पनि १९ स्वर्ण जिते पनि रजत पदक कम (९) पाएकाले उपविजेता बन्न पुग्यो।
छात्र भलिबलमा परशुराम विवादमा पर्यो। फर्जी खेलाडी उतारेको पाइएपछि आयोजक जिल्ला खेलकुद समितिले उसको टिमलाई डिस्क्वालिफाइ गर्यो। त्यसपछि भएको फाइनलमा गन्यापधुरा गाउँपालिकाले अमरगढीलाई २–१ ले हराउँदै भलिबल स्वर्ण हात पार्यो।
प्रतियोगितामा आलिताल गाउँपालिका तृतीय बन्यो। अजयमेरु, गन्यापधुरा, नवदुर्गा र भागेश्वर गाउँपालिकाले पनि विभिन्न पदक जिते।
प्रतियोगिता जेठ ६ गते सुरु भई शनिबार सम्पन्न भएको हो। छात्र–छात्रा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँतेलगायतका खेल समावेश थिए।
जिल्लास्तरीय उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि छनोट भएका छन्। उनीहरूको नामावली चाँडै सार्वजनिक गरिने जिल्ला खेलकुद विकास समितिले जनाएको छ।