
डडेल्धुरा । एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ का लागि सुदूरपश्चिम क्षेत्रीय छनोटमा डडेल्धुरा क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। बलियो तयारी र समन्वित खेलको कारण डडेल्धुरा अब प्रदेश टिममा स्थान बनाउने प्रमुख दाबेदारको रूपमा अगाडि आएको छ।
डडेल्धुराले पहिलो खेलमा डोटीलाई ९ विकेटले पराजित गरेपछि दोस्रो खेलमा घरेलु टोली बैतडीलाई ३ विकेटले हराउँदै महत्वपूर्ण जित हात पारेको हो। तीन खेलमा दुई जितसहित रनरेटका आधारमा डडेल्धुरा समूह ए विजेता बन्यो।
अब डडेल्धुरा जेठ १४ गते धनगढीको फाप्ला मैदानमा समूह बी को विजेता टोलीसँग उपाधिका लागि भिड्नेछ। समूह बी का खेलहरू जेठ ११ गतेदेखि सुरु हुने तय भएको छ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा र बैतडी जिल्ला क्रिकेट संघको संयोजनमा जेठ ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल क्रिकेट संघमा आवद्ध सुदूरपश्चिमका आठ जिल्लाको सहभागिता छ। डडेल्धुरा, बैतडी, बझाङ र डोटी समूह ए मा तथा अछाम, कैलाली, कञ्चनपुर र दार्चुला समूह बी मा छन्।
डडेल्धुरा क्रिकेट संघका सचिव निरज रावलका अनुसार छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई प्रदेश टोलीमा समावेश गरिनेछ। आगामी राष्ट्रिय प्रतियोगिता तथा एसीसी यु–१६ इस्ट जोन कपको तयारीका लागि यो छनोट निर्णायक ठहरिनेछ।
यस वर्षको एसीसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को तयारीस्वरूप नेपाल क्रिकेट संघले यही महिनाभित्र राष्ट्रिय प्रतियोगिता आयोजना गर्दैछ।