
डडेल्धुरा । “स्वस्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ प्रदेशस्तरीय नेपाल सितोरियो कराँते प्रतियोगिता तथा दीक्षान्त समारोह २०८२ डडेल्धुरामा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम नेपाल सितोरियो कराँते संघ सुदूरपश्चिमको आयोजनामा तथा डडेल्धुरा शाखाको व्यवस्थापनमा, सदरमुकामस्थित टुँडिखेल कभर्डहलमा आयोजना गरिएको थियो।
समारोहको उद्घाटन अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न भएको थियो । उनले उद्घाटन समारोहमा बोल्दै कराँतेले आत्मरक्षा मात्र होइन, अनुशासन, आत्मविश्वास र नेतृत्व विकासमा समेत सहयोग पुर्याउने बताएका थिए। साथै, उनले आगामी वर्षको बजेटमा कभर्डहलमा खेलकुदका लागि आवश्यक म्याटको व्यवस्था गरिने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रममा डडेल्धुरा, बैतडी, डोटी, अछाम, कैलाली, कञ्चनपुरलगायत सुदूरपश्चिमका ९ जिल्लाबाट करिब २०० जना कराँते प्रशिक्षार्थी तथा खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रशिक्षार्थीहरूले विभिन्न कराँते कौशल प्रदर्शन गरी दर्शकहरूलाई उत्साहित पारे।
यस्तै आज दीक्षान्त समारोहको समापनमा सुदूरपश्चिम कराते संघका अध्यक्ष यज्ञराज वैधको सभापतित्व तथा अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टको प्रमुख आथित्यतामा सम्पन्न भयो।
समापन कार्यक्रममा विभिन्न तहका कराँते प्रशिक्षार्थीहरूलाई ‘डन प्रमोसन सर्टिफिकेट’ तथा प्रमाणपत्र प्रदान गरिएको थियो। त्यस्तै, उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीहरूलाई विशेष सम्मान पनि प्रदान गरिएको थियो।
प्रतियोगितामा डडेल्धुराका लालसिंह ठगुन्ना प्रथम भएका छन्। त्यस्तै ब्ल्याक बेल्ट दिक्षान्त समारोहमा कराते प्रशिक्षक विरेन्द्र बहादुर चन्द, राष्ट्रीय खेलाडी दिपेन्द्र देउवा, छायाँ ठकुराई र अन्य प्रशिक्षक रामबहादुर कोली, रामदत्त पन्त रमेश कडाल, महेन्द्र सिंह ऐर, भुवनराज भट्ट, रमेश ताम्राकार, लालसिंह ठगुत्रा, लक्ष्मण नेगी, दिनेश नेपाली लगायतलाई सम्मान गरिएको थियो। ४ दिनसम्म सञ्चालन भएको समारोहमा जिल्ला सितोरियो कराँते संघले विहानमो समयमा खाना नि:शुल्क दिएको थियो।
समारोहमा पूर्व वरिष्ठ प्रशिक्षक तुलसी कुमार महर्जन, विमल खडायत तथा विभिन्न कराँते प्रशिक्षकहरूको उपस्थिति थियो।
कार्यक्रमको संयोजन नेपाल सितोरियो कराँते संघ डडेल्धुराले गरेको हो भने सुदूरपश्चिम कराँते संघले प्राविधिक सहयोग पुर्याएको थियो।
डडेल्धुरा कराँते संघका अध्यक्ष डम्बर डाँगा र नेपाल सितोरियो कराँते संघ डडेल्धुराका प्रमुख ओमप्रकाश पन्तले कराँतेमार्फत युवालाई अनुशासित र स्वास्थ्यप्रति सजग बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। उनीहरूका अनुसार आगामी दिनहरूमा कराँते गतिविधि अझ व्यापक बनाउँदै युवाहरुलाई खेलतर्फ आकर्षित गरिनेछ।