Paschim Express
डडेल्धुरा बन्यो सुदूरपश्चिमस्तरीय यू–१९ महिला क्रिकेट प्रतियोगितामा च्याम्पियन

धनगढी । सुदूरपश्चिम प्रदेशस्तरीय यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधिका डडेल्धुराले जितेको छ । फाइनलमा कञ्चनपुरलाई ५ रनले पराजित गर्दै डडेल्धुराले उपाधि जितेको हो ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको फाइनलमा ८९ रनको विजय लक्ष्यसहित मैदानमा उत्रिएको कञ्चनपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८३ रन मात्रै बनाउनसक्यो । उसका लागि अर्चना चन्दले २४ र दीपा बडूले १३ रन बनाइन् ।

डडेल्धुराले २९ रन अतिरिक्त दिएको थियो । डडेल्धुराका मनिषा खत्री र हिरा साउँदले २–२ तथा आशिका महरा, सञ्जु साउँद र निशा खठायतले १–१ विकेट लिइन् । 

त्यसअघि टस जितेर ब्याटिङ गरेको डडेल्धुरा १६.५ ओभरमा ८८ रनमा समेटिएको थियो । डडेल्धुराका लागि हिरा साउँदले २४ रनको अविजित पारि खेलिन् । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कञ्चनपुरले २० रन अतिरिक्त दिएको थियो । कञ्चनपुरका पुनम जोशीले र सावित्री धामीले ३–३ तथा अर्चना चन्दले २ र गंगा खड्काले १ विकेट लिइन् । 

आयोजक प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काका अनुसार प्रतियोगिताको विजेता भएको डडेल्धुराले नगद दुई लाख तथा उपविजेता बनेको कञ्चनपुरले नगद एक लाखसहित ट्रफी तथा मेडल प्राप्त गरेको छ । प्रतियोगितामा तृतीय र चौथो स्थान प्राप्त गर्ने बैतडी र कैलालीले नगद ५०/५० हजार पुरस्कार पाएका छन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट ब्याटर र बलरलाई १५/१५ हजार र उदीयमान खेलाडीलाई १० हजार नगद प्रदान गरिएको खड्काले बताए । 
 

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update