
काठमाडौं । मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको विजेता नेपाली टोलीका सदस्य सुशील रावललाई फ्रेन्चाइज टिम सुदूरपश्चिम रोयल्सले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
‘ट्यालेन्ट हन्ट’ कार्यक्रमबाट छनोट भई यू–१६ राष्ट्रिय टोलीमा पुगेका रावलले प्रतियोगितामा ३ खेल खेल्दै ४ विकेट लिएका थिए। अब उनी यू–१९ टोलीको छनोटका लागि भारतमा हुने प्रशिक्षणमा सहभागी हुँदैछन्, जसका लागि करिब एक लाख रुपैयाँ खर्च हुने भएपछि उनले सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेका थिए।
त्यस अनुरूप सुदूरपश्चिम रोयल्सका सिइओ प्रकाश खड्काले शुक्रबार एक लाख रुपैयाँ हस्तान्तरण गरेका हुन्। टिमले सामाजिक सञ्जालमार्फत लेखेको छ, "सपना देख्न नछाड सुशील। तिमीमा रहेको अनुशासन, प्रतिबद्धता र मेहनतमा हामीलाई विश्वास छ। यो त सुरूवात मात्र हो, तिमी अझ धेरै अगाडि बढ्नेछौ। सुदूरपश्चिम रोयल्स् परिवार सधैं तिमी साथमा छ।"
बझाङबाट राष्ट्रिय टोलीमा पुगेका रावल हाल कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनीमा बसोबास गर्छन्।
यसअघि नेपाल क्रिकेट संघ (क्यान) ले यू–१६ विजेता टोलीका सबै खेलाडीलाई जनही ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरिसकेको छ भने व्यक्तिगत रूपमा पनि सहयोग आउने क्रम जारी छ।