
डडेल्धुरा । नेपाली महिला भलिबल टोलीकी मिडल ब्लकर कविता भट्टले आफ्नो खेल जीवनको नयाँ अध्याय अस्ट्रेलियाबाट सुरु गर्ने भएकी छन्। विभागीय टोली नेपाल एपिएफ क्लबमार्फत लामो समयदेखि घरेलु भलिबलमा सक्रिय रहेकी कविताले क्लबबाट राजीनामा दिँदै अध्ययन र खेलका लागि अस्ट्रेलिया प्रस्थान गरेकी हुन्।
राष्ट्रिय टोलीको महत्वपूर्ण सदस्य रहिएकी डडेल्धुराकी कविताले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेकी छन्। उनी गत वर्ष ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत ‘पिपुल्स च्वाइस अवार्ड’ जितेपछि थप चर्चामा आएकी थिइन्।
उनको विदेश प्रस्थान नेपाली भलिबलका लागि एक प्रकारको क्षति मानिएको छ। राष्ट्रिय टोलीमा योगदान दिनसक्ने प्रतिबद्ध र गुणस्तरीय खेलाडीको यस्ता निर्णयले टोलीको संरचना र भविष्यमा प्रभाव पार्न सक्ने विज्ञहरूको बुझाइ छ।
यसअघि अर्की राष्ट्रिय खेलाडी सरस्वती चौधरीले पनि यस्तै मार्ग अपनाउँदै अस्ट्रेलिया प्रस्थान गरेकी थिइन्।
लगातार अनुभवी खेलाडी विदेशिने प्रवृत्तिले नेपाली भलिबल व्यवस्थापनका लागि गम्भीर चुनौती खडा गरिरहेको छ। खेलाडीलाई स्वदेशमै रोक्न सक्ने दीर्घकालीन योजना, आकर्षक अवसर र संरचना निर्माणको आवश्यकता झनै बढ्दै गएको छ।