Paschim Express
निर्वाचनप्रति नागरिक विस्वस्त छैनन् : नैनसिंह महर

डडेल्धुरा । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा शिक्षा विभाग संयोजक नैनसिंह महरले आम नागरिक अहिले पनि निर्वाचनप्रति पूर्ण रूपमा विश्वास गर्न नसकेको बताएका छन्।

शनिबार नेपाल प्रेस युनियन डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले तोकेको निर्वाचन मिति नजिकिँदै जाँदा समेत आवश्यक तयारीमा गम्भीरता नदेखाएको आरोप लगाए।

महरका अनुसार सरकारले फागुन २१ गतेका लागि निर्वाचन तोकेको भए पनि पूर्वाधार निर्माण, दलहरूसँग संवाद, जनताको मनोबल बढाउने तथा अन्तर्राष्ट्रिय जगतमा विश्वास जगाउने कुनै पनि काममा प्रगति गर्न सकेको छैन। उनले भने, “प्रजातन्त्रको प्राणवायु भनेको नियमित निर्वाचन हो, त्यसैले वातावरण बने काँग्रेस चुनावमा जान तयार छ।”

उनले थपे, “यदि तय भएको मितिमा चुनाव हुन सकेन भने संसद् पुनर्स्थापनामार्फत संविधानलाई पुनः लिकमा ल्याउने जिम्मेवारी पनि नेपाली काँग्रेसले लिन्छ।”

त्यसक्रममा उनले आसन्न १५औं महाधिवेशन समयमै सम्पन्न गर्ने तयारी भइरहेको बताउँदै केही आवश्यक प्रक्रिया बाँकी रहेको जानकारी दिए। महरले सभापति शेरबहादुर देउवा उपचारका लागि विदेशमा रहेको र अहिले उपसभापति पूर्णबहादुर खड्काले पार्टीको जिम्मेवारी सम्हालिरहेको बताए।

देउवा दम्पतीमाथि हालै भएको कुटपिट र निवासमा आगजनीको घटनाबारे सोधिएका प्रश्नमा उनले उक्त घटना निन्दनीय भएको बताए। “श्रद्धेय नेता शेरबहादुर देउवालाई देखेर नै राजनीति सिकेका हौं, उहाँमाथि भएको आक्रमण दुखद र लज्जास्पद छ,” महरले भने।

कार्यक्रम नेपाल प्रेस युनियन डडेल्धुरा शाखाका अध्यक्ष योगेन्द्रबहादुर रावलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला स्तरीय नेता, कार्यकर्ता, भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

 

प्रकाशित मिति: शनिबार, कात्तिक २, २०८२  २१:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update