Paschim Express
सुदूर पहाडमा एनपीएलको ‘ट्रफी टूर’ भएन, क्यान र सुदूरपश्चिम रोयल्सको आ–आफ्नै तर्क

धनगढी । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी टूर जारी छ । अन्य प्रदेशमा ट्रफी टूर सकिएपछि शुक्रबारदेखि सुदूरपश्चिम प्रदेशमा भइरहेको छ । सुदूरपश्चिम रोयल्सको व्यवस्थापन र क्यानको समन्वयनमा भइरहेको ट्रफी टूर टीकापुर पार्कबाट सुरु भएकोमा कञ्चनपुरको दोधारा हुँदै धनगढीमा आज समापन गर्ने कार्यक्रम छ । 

ट्रफी टूरको कार्यक्रम सुदूरपश्चिमका पहाडी जिल्लामा नभएपछि विरोध भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का सुदूरपश्चिम अध्यक्ष बासुदेव जोशीले पनि असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष जोशीले पहाडी जिल्लाहरूप्रति उपेक्षा गरिएको आरोप लगाउँदै यस्तो निर्णयले पहाडी क्षेत्रका खेलाडी र क्रिकेट प्रेमीहरूको भावनामा ठेस पुगेको बताएका हुन् । 

‘अध्यक्षज्यू आफैँ पहाडबाट उठेका, पहाडीको घाम–पानी खाएका व्यक्ति । तर कार्यक्रम किन तराईमै सीमित ? पहाडलाई किन हरेकपटक दोस्रो दर्जाको मानिँदैछ,’ जोशीले भनेका छन् । समाजिक सञ्जालमा खेलप्रेमीले पनि ट्रफी टूर सुदूर पहाडमा नभएको भन्दै विरोध गरेका छन् । 

यता क्यानका अध्यक्ष चतुरबहादुर चन्दले यसवर्ष समन्वयमा अभाव भएको बताउँदै अर्को वर्ष सुदूरपश्चिमका पहाडी जिल्लामा पनि ट्रफी यात्रा गराइने बताए । ‘ट्रफी टूरको कार्यक्रम टिमले व्यवस्थापन गर्ने हो,’ अध्यक्ष चन्दले भने, ‘यसवर्ष समन्वयमा अभाव भयो । अर्को वर्ष खप्तड र अपी वेश क्याम्पमा ट्रफी पुगाउने सोच छ ।’

यता सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का प्रदेशमा ट्रफी टूरका लागि क्यानबाट दुई दिनको मात्रै समय पाएको हुँदा यसपटक पहाडी जिल्लामा सम्भव नभएको बताए । ‘सुर्खेतबाट अछाम, डोटी हुँदै डडेल्धुरा लगायतका जिल्लामा ट्रफी टूरको कार्यक्रम राख्ने हाम्रो योजना हो,’ खड्काले भने, ‘दुई दिनको मात्रै समय पाउँदा सम्भव हुने देखिएन । यसपटक तराइका जिल्ला गरियो । अर्को वर्ष पहाडी जिल्लामा ट्रफी टूर हुन्छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक २३, २०८२  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update