Paschim Express
सानातिना मतभेद बिर्सेर लोकतान्त्रिक मूल्य जोगाउन एकजुट हुन सभापति साउदको अपिल

डडेल्धुरा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराले पार्टीभित्र तथा लोकतन्त्रवादी शक्तिहरूबीच एकता अपरिहार्य भएको भन्दै सबै नेता–कार्यकर्तालाई सक्रिय राजनीतिमा फर्कन आह्वान गरेको छ।

जिल्ला सभापति भीमबहादुर साउदद्वारा जारी विज्ञप्तिमा हाल राजनीतिक परिवर्तनको नाममा नयाँ चुनौती र भयको अवस्था सिर्जना हुँदै गएको उल्लेख गरिएको छ। यसले लोकतान्त्रिक प्रणाली नै प्रभावित बनाएको भन्दै स्वतन्त्रता, समानता, लोकतन्त्र तथा प्राप्त राजनीतिक उपलब्धिहरूको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याइएको छ।

विज्ञप्तिमा विभिन्न परिस्थितिका कारण पार्टीबाट टाढा रहन पुगेका वा निष्क्रिय बनेका नेता–कार्यकर्ताप्रति लक्षित गर्दै सानातिना मतभेद बिर्सेर व्यक्तिगत सवाललाई थाती राखी लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि एकबद्ध भएर अघि बढ्न आग्रह गरिएको छ।

केन्द्रीय समितिबाट समेत परिस्थितिवश बाहिरिएका साथीहरूलाई पुनः नियमित सांगठनिक गतिविधिमा फर्कन परिपत्र जारी भइसकेको सन्दर्भ उल्लेख गर्दै जिल्ला कार्यसमिति डडेल्धुराले पनि सबैलाई हातेमालो गर्दै पार्टी गतिविधिमा सक्रिय हुन हार्दिक आह्वान गरेको छ।

निर्वाचन र राजनीतिक परिवर्तनको समय संक्रमणकालीन हुने भएकाले नेपाली कांग्रेसको पक्षमा जनमत सिर्जना गर्न तथा लोकतान्त्रिक भावना संरक्षणका लागि गोलबद्ध भएर लाग्न विज्ञप्तिमा अनुरोध गरिएको छ।

 

received_1440078834152498-1769171238.jpeg
 

प्रकाशित मिति: शुक्रबार, माघ १०, २०८२  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update