Paschim Express
देउवाले गभर्नर बनाउन चाहेका भट्टलाई बालेनले सुम्पे योजना आयोगको उपाध्यक्ष

धनगढी । डोटीका गुणाकार भट्ट राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।

उनलाई तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवा भट्टलाई गभर्नर बनाउन चाहेका थिए । नेपाल राष्ट्र बैंकका जागिरे भट्टलाई गभर्नर बनाउन राजनीतिक सहमति पनि जुटिसकेको थियो । तर, पछि एमाले अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टको बाटो छेके ।

ओलीले गभर्नर बनाउन रुचि नदेखाएपछि राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिइसकेका भट्ट बिलखबन्दमा परेका थिए । भट्ट रोकिँदा गभर्नर सिफारिस समितिका सदस्य रहेका विश्वनाथ पौडेललाई नै गभर्नर बनाइएको थियो । 

पछि उनै गभर्नर पौडेलले कार्यकारी निर्देशक भट्टलाई गभर्नर कार्यालयमा सरुवा गरेका थिए । भट्टको राजीनामा अस्वीकृत गर्दै गभर्नर पौडेलले उनको सरुवा गरेका थिए । भट्टको राजीनामा भने तत्कालीन कामु गभर्नर निलम ढुंगानाले स्कीकृत गरेकी थिइनन् । ढुंगाना आफैँ पनि गभर्नरको दौडमा थिइन् । यसमा ओलीकै चाहनाले काम गरेको बताइएको थियो । 

धोका भएको भन्दै निकटस्थहरूले भट्टलाई राजनीतिमा आउनसमेत सुझाव दिएका थिए । कतिपयले उनलाई स्वतन्त्र उम्मेदवार बन्नसमेत आग्रह गरेका थिए । तर, ती आग्रह अस्वीकार गरेका भट्टलाई अहिले वालेन्द्र शाह नेतृत्वको सरकारले महत्त्वपूर्ण पद सुम्पेको हो । 

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update