धनगढी । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आफू र आफ्नाे परिवारका बारेमा सम्पत्ति सम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको बताएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै देउवाले यस्ताे बताएका हुन् ।
'म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने जानकारी सञ्चारमाध्यमबाट थाहा पाएँ । म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु ', विज्ञप्तिमा भनिएकाे छ ।
नेपालको कानुनअनुसार सार्वजनिक पदमा रहँदा आफ्नाे सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको पनि उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले आफू खुला पुस्तकका रूपमा रहेकाे भन्दै भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न आफू गृहमन्त्री हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन लागू भएको स्मरण गराएका छन् ।
'मेरो जीवन एउटा खुला पुस्तकका रूपमा रहेको छ । भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदित नै छ,' उनले भनेका छन् ।
देउवा परिवार स्वास्थ्य उपचारका लागि हाल विदेशमा छन् । देउवाले वास्तविकता समयक्रमसँगै खुल्दै जाने भन्दै अतिरञ्जित गरी सार्वजनिक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गरेका छन् ।
यस्ताे छ देउवाले जारी गरेकाे विज्ञप्ति
आदरणीय दाजुभाई, दिदीबहिनी तथा साथीहरू,
म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान सुरु गरिएको भन्ने जानकारी सञ्चारमाध्यमबाट थाहा पाएँ । म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु ।
देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शीतासँगै राज्यका अंगहरू स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै व्यथित गरेको हुँ ।
मेरो जीवन एउटा खुल्ला पुस्तकका रूपमा रहेको छ । भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदित नै छ ।
स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौँ र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु । वास्तविकता समयक्रमसँगै खुल्दै जानेनै छ । अतिरञ्जन गरी सार्वजनिक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु।
जय नेपाल।
शेरबहादुर देउवा



