Paschim Express
डडेल्धुरामा एक पक्ष कांग्रेसको अधिवेशन गर्दै, अर्को पक्ष विरोधमा

धनगढी । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा आज वडा अधिवेशन हुँदैछ । नेपाली कांग्रेस डडेल्धुरा जिल्ला कार्यसमितिले जिल्लाका सातवटै स्थानीय तहका ५२ वडामा आज अधिवेशन सम्पन्न गर्ने कार्यतालिका रहेको जनाएको छ ।

जिल्ला सभापति भीमबहादुर साउदले वडा अधिवेशन निर्धारित मिति र प्रक्रियाअनुसार सम्पन्न गर्न आग्रह गरेका छन् । जिल्ला कार्यसमितिले वडा अधिवेशन आज तथा गाउँपालिका/नगरपालिका अधिवेशन असोज ७ गते गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो ।

अधिवेशनका लागि निर्धारित कार्यतालिका, विधान तथा निर्वाचनसम्बन्धी निर्देशिकाको पूर्ण पालना गर्दै आवश्यक समन्वय र तयारीका साथ अधिवेशन सम्पन्न गर्न जिल्ला कार्यसमितिले वडा तथा पालिका कार्यसमितिलाई निर्देशन दिएको छ ।

यसअघि अधिवेशनको प्रक्रिया र सहभागितालाई लिएर डडेल्धुरा कांग्रेसभित्र विवाद देखिएको थियो । जिल्ला सभापति भीमबहादुर साउद पक्ष र पूर्वजिल्ला सभापति कर्णबहादुर मल्ल, वर्तमान कार्यसमितिका पदाधिकारीबीच अधिवेशनलाई लिएर मतभेद सार्वजनिक हुँदै आएको छ ।

अधिवेशनको प्रक्रियाको विरोधमा जिल्ला उपसभापति डिल्लीराज जोशीले शनिबार छलफल बोलाएका थिए । छलफलमा अर्का उपसभापति लक्ष्मी अवस्थी, सचिव शेरबहादुर भण्डारी, प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री सरस्वती खड्का, जिल्ला समन्वय समिति प्रमुख गगन भण्डारीलगायत नेताहरू सहभागी थिए ।

छलफलले यथास्थितिमा अधिवेशनमा सहभागी नहुने र पार्टी एकताका लागि पहल गर्ने निर्णय गरेको जनाइएको थियो । यता जिल्ला सभापति साउदसहित गोविन्द बोहरा, रघुबर भट्टलगायत नेताहरू भने अधिवेशनको प्रक्रिया अघि बढाएका हुन् । 

प्रकाशित मिति: आइतबार, असोज ४, २०८३  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update