प्रिय पिपल
तिमी त आज सुनसान छौ ।
डाँडोको टुप्पोमा
एक्लै ठिङ्ग्रीन उभिएका
तिमीलाई साथ दिने कहाँ गए ?
तिम्रै छत्रछायामा बस्नेहरु
तिमी सँगै रमाउनेहरु
तिम्रो छत्रछाँयामा रजगज गर्नेहरू
तिम्रै छाँयामा बसी बाघचाल खेल्दै
बात मार्नेहरु
तिम्रा ती गुल्जार दिनहरु कहाँ गए ?
ती रापतापका दिन
बिस्तारै किन सुनसान भए ?
सबैको चाँसोको विषय बनेको छ
तिम्रा स्वर्णिम सपनाका दिनहरु
एकाएक कसरी हराए ?
टन्टलापुर घाम छेक्न
एक अर्काको चुक्ली गर्न
झै–झगडाको छिनोफानो गर्न
आइजा पिपल बोटनिर
चुनौति दिन
नानीको उपचार गर्ने
तिम्रै छात्रछाँयाको प्रयोग गर्थे ।
आज तिम्रो मौनताले
रहेक दिन चुक्लीबिना
कसरी दिन व्यतित गर्दैछन् ?
गुल्जार भएको तिम्रो मन
ठुलै निबन्धकारको जस्तै
बातहरु सुन्ने तिम्रा ती कान
रहेक शनिबार तिमीलाई
पुज्ने र ढोक्नेहरुको त्यो लक्सर
खै कता गयो
आजकल किन मिति त एक्लो भयौ ?
किन किन मितिलाई
एक्लो देख्दा लाग्दै छ ।
मिति त सधैं चौतारीको गफमा रमाउने ।
तिम्रा गफका दौतरीहरु हराए
तिम्रा गाउँका बस्ती, गल्ली सबै सुनसान भए ।
साँझ बिहानको
चियाचर्चा गर्नेहरु सबै मौन छन् ।
मितिसँग बोल्नेहरु र तिम्रो त्यो मझेरीमै बस्नेहरु
तिम्रो मौनताले एक्लिएका छन् ।
झिसमिसे बिहानै होस्
अस्ताउँदो साझमै किन नहोस्
तिम्रो छहारीमा बस्नेहरु आज तिम्रो भुई टेक्दैनन् ।
गाउँका चोक, चौतारा, पँधेरा
सब आजकल सुनसान छन् ।
किन हो किन बस्तीहरु सुनसान छन् ।
तिमीसँग बोली दिने सायद कोही छैन ।
तिम्रो छहारीमा बसीदिन कोही छैन ।
मिठो सिरसिरे हावा ग्रहण गर्ने कोही छैनन् ।
आजकल त तिमी किन किन सुनसान छौ ।
तिम्रो हरियालीमा तिमीलाई
आफ्नो देख्नेहरु
क्रमशः बिराना हुँदैछन
कताकता आफ्नै हागाबिङ्गा भारी लाग्दैछन् ।
सुन्दर चौतारो भत्किएको छ ।
तिमी कुरुप देखिदै छौ
जे नहुनुपर्थ्यो त्यही हुँदैछ।
हराभरा भएकोबेला
स्वार्थ लिनेहरु तिमी हराएमा खुसी हुन्थे होला
स्वर्थका लागि पो भगवान मान्छन्
तिम्रा शुभचिन्तकहरु चाँसोका साथ सोध्दैछन्
आजकल तिमी किन सुनसान छौ ?