धनगढी । विपद् जोखिम न्यूनीकरण र आपतकालीन प्रतिकार्यलाई प्रभावकारी बनाउने उद्देश्यसहित कैलालीको गोदावरी नगरपालिकामा नमुना पूर्वअभ्यास कार्यक्रम गरिएको छ । गोदावरी नगरपालिकाको आयोजनामा, युरोपेली आयोग मानविय सहायता विभागको आर्थिक सहयोग तथा युएनडीपी, युएन ओमन, युनीसेफ, हेन्डीक्याप इन्टरनेसनलको सहयोग तथा ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुकद्वारा सञ्चालित सुपर दोश्रो चरण परियोजनाको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको हो ।
भूकम्प पश्चातको कठिन घडी र सो पश्चातको विद्युत सटसर्किट भई आगलागीको अवस्थामा मानविय सुरक्षा, प्राथमिकताका आधारमा खोज उद्धार, आगलागी नियन्त्रण र भवनभित्र फसेका व्यक्तिहरुको सकुसल उद्धारको सिनारियो कार्यक्रममा देखाइएको थियो । सुरक्षा निकायका तीन वटै निकायहरुको प्राविधिक सहजीकरणमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा गोदावरी नगरपालिकाका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक, विपद् व्यवस्थापन शाखाका फोकल व्यक्तिहरू, विद्यार्थी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
नमुना पूर्वअभ्यास कार्यक्रमहरुले समुदाय, विद्यालय, उद्धारकर्ता स्वयंसेवक एवं सुरक्षानिकायहरु बिच आपतकालिन प्रतिकार्य गर्न समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई थप मजबुत बनाउनुका साथै भविष्यमा विपद् पूर्वतयारी र प्रतिकार्यलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको रुडुकका कार्यकरी निर्देशक अमर साउदले जानकारी दिए ।
कार्यक्रमले आपतकालिन अवस्थामा खोज तथा उद्धार र समन्वयात्मक प्रतिकार्य गर्न निकै मद्दत पुर्याउने उनको विश्वास छ ।



