Paschim Express
बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी भएका सांसद पार्की ४ महिनादेखि फरार

राष्ट्रियसभा सदस्य जगतबहादुर पार्की चार महिनादेखि फरार रहेको खुलेको छ । कैलाली जिल्ला अदालतले प्रहरीलाई पक्राउ गर्न अनुमति दिए पनि पार्की पक्राउ परेका छैनन् ।

डडेल्धुराको आलिताल गाउँपालिकाका पार्की नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट राष्ट्रियसभा सदस्य छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार पार्कीविरुद्व बैंकिङ कसुरमा चार महिनाअघि पक्राउ पुर्जी जारी भएको थियो । ‘पुर्जी जारी भएपछि हामी उहाँलाई खोजिरहेका छौँ,’ डीएसपी तिमिल्सिनाले भने, ‘तर, उहाँ सम्पर्कमा आउनुभएको छैन ।’

पार्कीविरुद्ध कैलालीको धनगढीका नरेशबहादुर थापाले मुद्दा दायर गरेका थिए । ‘पीडितको रकम फिर्ता गरेमा यो मुद्दा मिल्न सक्छ,’ डीएसपी तिमिल्सिनाले भने, ‘त्यसका लागि सुरुमा उहाँले सम्पर्कमा आउनुपर्छ । पार्कीविरुद्ध वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोप पनि छ । त्यसबारे प्रहरी वृत्त बानेश्वरको टोलीले अनुसन्धान अगाडि बढाएको बताइएको छ ।

पार्की भने उपचारका लागि भन्दै भारतमा छन् । उनले साथीको जमानी बस्दा आफू फसेको भन्दै नेपाल फर्किने बित्तिकै मिलापत्र हुने दाबी गरे ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २५, २०८३  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update