काठमाडौँ । नेपाली कांग्रेसले भोलिदेखि सुरु गर्ने ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’मा सहभागी हुनेले दुई हजार पाँच सय रजिस्ट्रेसन शुल्क तिर्नुपर्ने भएको छ ।
सुदूपश्चिमस्तरीय भेला भोलिदेखि कैलालीको धनगढीमा सुरु हुँदै छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद दुलालले सुदूरपश्चिम प्रदेश कार्यसमिति र जिल्ला समितिका सभापतिलाई लेखेको पत्रमा दुई हजार पाँच सय रजिस्ट्रेसन शुल्क लाग्ने उल्लेख छ ।
कार्यक्रमको व्यवस्थापन नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले गर्ने तथा स्थानीय संयोजन जिल्ला कार्यसमिति कैलालीले गर्ने बताइएको छ ।
यसअघि २१ फागुनको निर्वाचनअघि आमसभा र निर्वाचनपछि समीक्षा कार्यक्रम तय गरेको कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको असहयोगले गर्न सकेको थिएन ।
भोलिदेखि सुरु हुने भेलाको भने तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । भेलाका लागि महामन्त्री गुरु घिमिरे बिहीबार नै धनगढी पुगिसकेका छन् भने उपसभापति विश्वप्रकाश शर्मा आज पुग्दै छन् । भेलाको उद्धाटन सभापति गगन थापाले गर्ने कार्यक्रम छ ।



