
धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा एक उच्चस्तरीय टोली मंगलबार भारत भ्रमणका लागि प्रस्थान गरेको छ। मुख्यमन्त्रीको सचिवालयका अनुसार टोली आज मध्यान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्लीका लागि रवाना भएको हो।
नेपाल सरकारमार्फत भारत सरकारको विदेश मन्त्रालयको औपचारिक निमन्त्रणामा भएको यस भ्रमणमा विभिन्न तहका राजनीतिक, प्रशासनिक र नीतिगत प्रतिनिधिहरू सहभागी छन्। टोलीले बुधबारदेखि नयाँ दिल्लीमा औपचारिक भेटघाट र अध्ययन अवलोकन सुरु गर्नेछ।
कार्यतालिकाअनुसार टोलीले राजघाट, नयाँ संसद भवन, विदेश राज्यमन्त्री, गृह राज्यमन्त्रीसँगको भेट, विवेकानन्द अन्तर्राष्ट्रिय फाउन्डेसनसँग अन्तरक्रिया, फरीदाबादको ऊर्जा अवलोकन, नेशनल स्किल डेभलपमेन्ट कर्पोरेशन र कृषि अनुसन्धान संस्थानको भ्रमण गर्नेछ।
शुक्रबार दिल्लीबाट उत्तराखण्ड पुग्ने टोलीले त्यहाँका प्रदेश प्रमुख, मुख्यमन्त्री तथा संस्कृति एवं पर्यटनमन्त्रीसँग भेट गर्नेछ भने शनिबार तेरीधामको भ्रमण पछि टोली उत्तरप्रदेशको अयोध्या, रामजन्मभूमि मन्दिरजस्ता धार्मिक स्थलको भ्रमणमा निस्कनेछ। सोमबार उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पनि औपचारिक भेट हुने कार्यक्रम तय भएको छ।
मुख्यमन्त्री शाहका अनुसार सुदूरपश्चिम प्रदेश गठनपछि छिमेकी राष्ट्रसँगको औपचारिक सम्पर्क विस्तारका दृष्टिले यो भ्रमण ऐतिहासिक हुनेछ। ‘यो भ्रमणले दुई देशका सीमावर्ती प्रदेशबीचको सम्बन्ध मजबुत बनाउन सहयोग गर्नेछ’, शाहले बताए।
भ्रमण टोलीमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम चौधरी, नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक नरेशकुमार शाही, माओवादी केन्द्रका प्रदेशसभा सदस्य झपट साउँद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारीलगायत १० जना सहभागी छन्।
मुख्यमन्त्री शाहको अनुपस्थितिमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले २२ वैशाखसम्म कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन्।