धनगढी । सुदूरपश्चिम प्रदेश सरकार दोस्रो पञ्चवर्षीय योजना लागू गर्ने तयारीमा छ । आर्थिक वर्ष ०८३/०८४ देखि ०८७/०८८ सम्म कार्यान्वयन हुने पञ्चवर्षीय योजनाको मस्यौदामाथि छलफललाई प्रदेश सरकारले तिव्रता दिएको छ । पञ्चवर्षीय योजना कार्यान्यन गरेर प्रदेशवासीको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने लक्ष्य प्रदेश सरकारको छ ।
उत्पादन र उत्पादकत्व वृद्धि, गरिबी निवारण, रोजगारी र आयस्तरमा सुधार, गुणस्तरीय, सहज र दिगो पूर्वाधार विकास, स्वस्थ, सक्षम, सम्मानजनक जीवनयापन, जलवायु अनुकुलन, जैविक विविधताको संरक्षण, सम्वद्र्धन र प्राकृतिक स्रोतको दिगो उपयोग, सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउने, विपद् जोखिम न्यूनीकरण र प्रविधिमैत्री प्रदेशको विकासलाई पञ्चवर्षीय योजनाको मस्यौदामा समेटिएको छ ।
दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदामा कृषि, पर्यटन, उद्योग र उर्जा क्षेत्रको विकास, लगानी प्रवद्र्धन र उद्यमशीलता विकासमार्फत रोजगारी सिर्जना र दिगो आर्थिक वृद्धि हासिल गर्ने विषयलाई समेटिएको प्रदेश नीति तथा योजना आयोगले जनाएको छ । भौगोलिक सन्तुलनसहित यातायात, सिंचाइ, खानेपानी, डिजिटल तथा शहरी–ग्रामीण पूर्वाधार विकास गर्दै हरित र विपद् उत्थानशील विकासलाई प्राथमिकता दिने, गुणस्तरीय स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा र रोजगारीमा समान पहुँच सुनिश्चित गर्दै विकास गर्ने, समुदायमा आधारित, पारिस्थितिक प्रणालीमैत्री र जलवायु उत्थानशील प्राकृतिक स्रोत व्यवस्थापन प्रणाली विकास गरी जैविक विविधताको संरक्षण, सम्वद्र्धन तथा प्राकृतिक स्रोतको दिगो उपयोग सुनिश्चित गर्ने, सेवा प्रवाहलाई सूचना प्रविधिमा आधारित, पारदर्शी, परिणाममुखी बनाउने योजना पनि रहेको छ ।
त्यसैगरी दोस्रो पञ्चवर्षीय योजनामा कृषि तथा पशुपालन, पर्यटन विकास, उद्योग तथा उद्यमशीलता, सामाजिक विकास, दिगो पूर्वाधार विकास, जलश्रोत तथा उर्जा, सुशासन तथा संस्थागत क्षमता विकास, सूचना तथा संचार प्रविधिको विकास, वन वातावरण र पर्यावरण प्राथकिताका क्षेत्रहरू समाविष्ट गरिएका छन् ।



