Paschim Express
डडेल्धुरा घर भएका पूर्व सशस्त्र प्रहरी राजेन्द्रले भोगेको टिकापुर त्रासदी

-राजेन्द्र ऐर

२०७२ साल भदौ ७ गते मेरो जीवनको सबैभन्दा पीडादायक र कहालीलाग्दो दिन बन्न पुग्यो। त्यस समय म सशस्त्र प्रहरी बल, उग्रतारा गण, टिकापुर, कैलालीमा कार्यरत थिएँ। घटना हुनुभन्दा केही दिनअगाडि नै टिकापुर क्षेत्रमा थारुहट आन्दोलन र अखण्ड सुदूरपश्चिम पक्षधरहरूबीच बेलाबेला झडप र विवाद भइरहेका थिए।

२०७२ भदौ ६ गते यस्ता झडपलाई नियन्त्रणमा लिन सर्वपक्षीय बैठक बोलाइएको थियो। उक्त बैठकमा थारु संघर्ष समितिका संयोजक रेशम चौधरीसहित सबै सरोकारवाला र सुरक्षा निकायहरू सहभागी थिए। सशस्त्र प्रहरी गणभित्रै बसेको उक्त छलफलमा आन्दोलन जारी राख्ने तर शान्तिपूर्ण र निशस्त्र रूपमा प्रस्तुत हुने सहमति भएको थियो। सुरक्षा निकायका प्रमुखले पनि आन्दोलन शान्तिपूर्ण रहेसम्म बल प्रयोग नगर्न निर्देशन दिएका थिए।

भोलिपल्ट, भदौ ७ गते बिहान ६ बजेदेखि मेरो ड्युटी सुरु भयो। हामी झण्डै १५–२० जना सशस्त्र प्रहरी र नेपाल प्रहरी मिलेर रेशम चौधरीको निजी रिसोर्ट (फुलबारी रिसोर्ट) मा सुरक्षार्थ खटिएका थियौं। रेशम चौधरीमाथि अर्को समूहबाट आक्रमण हुन सक्ने आशंकाका आधारमा उनलाई सुरक्षा दिइएको थियो। त्यही दिन टिकापुर क्षेत्रलाई निषेधाज्ञा क्षेत्र घोषणा गरिएको थियो र चारैतिर सुरक्षा घेराबन्दी गरिएको थियो।

बिहान करिब ९–१० बजेको समयमा रेशम चौधरी कालो चस्मा र कालो मास्क लगाएर, आफैलाई नचिनिने गरी बाइकमा बाहिरिए। उनको पहिरन र हाउभाउले हामी शंकित भयौं, तर प्रहरीमाथि हमला होला भन्ने कल्पना गरेका थिएनौं। लाग्यो, सायद अर्काे समूहसँग झडप हुन सक्छ, जुन निषेधाज्ञा भएकाले सम्भव नदेखिन्थ्यो।

करीब ११ बजेतिर मेरो ड्युटी फेरिएपछि म व्यारेक फर्किएँ। व्यारेकमा खाना खाइरहेका थियौं, अधिकांशले खाना अझै सकिसकेको पनि थिएन। त्यत्तिकैमा खबर आयो—भैंसी हाट बजार क्षेत्रतिरबाट आन्दोलनकारीहरू निषेधाज्ञा उल्लंघन गर्दै प्रहरीलाई पछ्याउँदै उग्र रूपमा अघि बढिरहेका छन्।

तत्काल थप सुरक्षाकर्मी पठाइयो, जसमा म पनि समावेश थिएँ। हाम्रो टोलीसँगै सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लक्ष्मण सिंह, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपाने सरलगायत अन्य अधिकृतहरू पनि थिए। आन्दोलनकारीहरूलाई सम्झाउने क्रममा एसएसपी न्यौपाने सर अगाडि बढ्नुभयो, तर त्यसको गलत फाइदा उठाउँदै उनीहरूले हामीलाई चारैतिरबाट घेराबन्दी गरी गुलेली, ढुंगा, लाठी र घरेलु हतियारबाट आक्रमण सुरु गरे।

म लाठी र ढालसहित ड्युटीमा थिएँ, तर टाढाबाट आइरहेका गुलेली र ढुंगाको अगाडि ती साधन उपयोगविहीन सावित भए। हामी आफैंलाई बचाउँदै क्रमशः पछाडि हट्यौं तर केहीबेरमै चारैतिरबाट घेरिइसकेपछि हामी एकै ठाउँमा थुप्रिन पुग्यौं। केही साथीसँग हतियार त थिए, तर सुरुमा फायर खोल्न कुनै आदेश थिएन र यति भीषण आक्रमण होला भन्ने कल्पनै गरिएको थिएन। भिडको बीचमा ढल्दा हामी हतियार प्रयोग गर्न पनि सक्ने अवस्थामा रहेनौं।

ममाथि पनि प्रत्यक्ष प्रहार भयो। हात भाँचियो र समातेको ढाल त्यहीँ खस्यो। चारैतिरबाट आक्रमण भइरहेका बेला भाग्ने ठाउँ भेटिएन—एकतिर घर, दुईतिर सडक, जहाँ सयौं आन्दोलनकारी, र अर्को साइडमा खेत थियो। सडक किनारमा बार लगाइएको थियो, जुन संयोगवश भत्कियो र हामी त्यहीँबाट खेततिर भाग्न सफल भयौं। खेतमा घुँडासम्म पानी थियो, जसका कारण आन्दोलनकारीहरू हामीलाई पछ्याउन सकेनन्।

त्यही समयभित्र आन्दोलनकारीहरूले हामीबाट छुटिएका केही साथीसँग निर्दयी व्यवहार गरे—कसैलाई पेट्रोल छर्केर जलाए, कसैलाई भाला रोपेर हत्या गरे।

हामी सबै घाइते भइसकेका थियौं। बडी प्रोटेक्टर र हेलमेटले ढाकिएका भागबाहेक शरीरका अरू सबै भागमा चोट लागिसकेको थियो। हामी खेत हुँदै व्यारेक फर्कियौं। व्यारेक पुगिसकेपछि मात्र घटनाबारे विस्तृत जानकारी पायौं। थप टोलिहरू घटनास्थल पुगे पनि आन्दोलनकारीहरू तितरबितर भइसकेका रहेछन्।

हाम्रो टिमका दुई सशस्त्र प्रहरी र नेपाल प्रहरीका पाँच जना सहिद भएका थिए। तीमध्ये एकजना, हवल्दार सव, जो एसपी सरका सुरक्षा गार्डसमेत थिए, पेट्रोल छर्केर जलाइएको अवस्थामा फेला परे। एसएसपी लक्ष्मण न्यौपाने सर, निरीक्षक केशव बोहरा लगायतलाई भालाले रोपेर हत्या गरिएको थियो।  ती सब दृश्य र विवरणहरू सुन्दा र सम्झँदा आज पनि रगत उम्लिन्छ।

(डडेल्धुराको अजयमेरु गाउँपालिका घर भएका लेखक ऐर पूर्व सशस्त्र प्रहरी जवान हुन् ।)

 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update