Paschim Express
डडेल्धुरामा निजी छाडेर सरकारी विद्यालय रोज्ने चलन,  महेन्द्र मावि बन्याे उदाहरण

डडेल्धुरा । केही वर्षअघिसम्म निजी र आवासीय विद्यालयलाई मात्र उत्कृष्ट शिक्षाको केन्द्र मान्ने अभिभावकहरू अब सरकारी विद्यालयतर्फ आकर्षित हुन थालेका छन्। यसको ताजातम उदाहरण बनेको छ डडेल्धुराको सदरमुकामस्थित महेन्द्र माध्यमिक विद्यालय। जहाँ अहिले विद्यार्थीको चाप दिन प्रतिदिन बढ्दै गएको छ।

बुधबारमात्रै उक्त विद्यालयमा २२३ जना नयाँ विद्यार्थीहरूले प्रवेश परीक्षा दिए। तीमध्ये अधिकांशले निजी तथा आवासीय विद्यालय त्यागेर यो सरकारी विद्यालय रोजेका हुन्। कक्षा २ देखि ९ सम्म पढ्न चाहने विद्यार्थीको भिडले विद्यालयको लोकप्रियता प्रस्ट पारिरहेको छ।

विद्यालयका प्रधानाध्यापक सुरेन्द्रसिंह ऐरका अनुसार, शैक्षिक गुणस्तर, नियमित मूल्याङ्कन, अतिरिक्त क्रियाकलाप र अभिभावकसँगको घनिष्ठ सम्वादका कारण विद्यालयमा विश्वास बढेको हो। “हामीले शिक्षालाई परिणाममुखी बनाएका छौँ,” प्रधानाध्यापक ऐर भन्छन्।

शिक्षक अशोक बमको भनाइमा, निजी विद्यालयले मात्र अंग्रेजी माध्यममा पढाउने धारणा अब भत्किएको छ। महेन्द्र माविले कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यममा र कक्षा ६ देखि १० सम्म दुईवटै माध्यममा पठनपाठन सुरु गरेपछि आमाबुवाको सोचमा आमूल परिवर्तन आएको छ।

WhatsApp-Image-2025-05-07-at-1.51.22-PM-1746608963.jpeg
बम भन्छन्, “अब अंग्रेजी पढाउन निजीमा पठाउनु पर्दैन भन्ने बुझेका छन् अभिभावक। कम खर्चमा गुणस्तरीय शिक्षा उपलब्ध भएपछि उनीहरू आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमै पठाउन थालेका हुन्।”

बढ्दो विद्यार्थी चापका कारण कक्षाकोठा र शिक्षक अभावको चुनौती थपिए पनि विद्यालय व्यवस्थापनले त्यसको समाधानमा अग्रसरता देखाएको छ। नयाँ फर्निचर, कक्षा विस्तार, र थप जनशक्ति व्यवस्थापनको प्रक्रिया अगाडि बढाइएको छ।

सरकारी विद्यालयको पुनर्जागरणको संकेत दिँदै महेन्द्र माविको यो सफलताको कथा डडेल्धुरा मात्रै होइन, सम्पूर्ण सुदूरपश्चिमका सामुदायिक विद्यालयका लागि प्रेरणाको स्रोत बन्ने निश्चित देखिन्छ।

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update