Paschim Express
सुदूरपश्चिम प्रदेशको बेरुजु ५० करोडले वृद्धि, कुल रकम ३ अर्ब नजिक

डडेल्धुरा । सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु रकम ५० करोड ६९ लाख ९३ हजार रुपैयाँले वृद्धि भई हाल दुई अर्ब ९८ करोड ४९ लाख २० हजार रुपैयाँ पुगेको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६२ औं वार्षिक परीक्षण प्रतिवेदनमा यो तथ्य सार्वजनिक भएको हो ।

गत प्रतिवेदनसम्म सुदूरपश्चिम प्रदेशको बेरुजु दुई अर्ब ६८ करोड २९ लाख २९ हजार रुपैयाँ रहेको थियो । आर्थिक वर्ष २०७८/७९ को हिसाबले परीक्षण गरिएको यो प्रतिवेदनमा २२ करोड ६९ लाख ९४ हजार रुपैयाँ मात्र सम्परीक्षण गरिएको जनाइएको छ । साथै, सुदूरपश्चिम प्रदेशको पेश्की बेरुजु रकम ३७ करोड ५९ लाख ११ हजार रुपैयाँ रहेको छ ।

६२ औं महालेखा परीक्षकको वार्षिक प्रतिवेदन अनुसार देशका सात प्रदेश सरकारहरूको बेरुजु पाँच अर्ब २ करोड १९ लाख ९७ हजार रुपैयाँले वृद्धि भएर कुल बेरुजु रकम ३४ अर्ब १३ करोड ७९ लाख ५१ हजार रुपैयाँ पुगेको छ ।

गत प्रतिवेदनमा प्रदेशहरूको बेरुजु ३१ अर्ब ५० करोड ९५ लाख २० हजार रुपैयाँ रहेको थियो । अहिलेसम्म बाँकी रहेको बेरुजुमध्ये नौ अर्ब ९५ करोड ४१ लाख २९ हजार रुपैयाँ पेश्की बेरुजुको रूपमा रहेको महालेखाले उल्लेख गरेको छ ।

 

प्रकाशित मिति: बिहीबार, जेठ २, २०८२  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update