Paschim Express
२० हजारको लोभमा करोडौंको ठगी,  भारतीय गिरोहको जालोमा यसरी फसे कञ्चनपुरका राहुल

काठमाडौं । कञ्चनपुरका २१ वर्षीय राहुल बुढा पछिल्लाे समय काठमाडौंको अनामनगरमा बस्दै आएका थिए। सामान्य युवाको जीवन बिताइरहेका उनी एक्कासि ठगी अभियोगमा समातिएपछि उनीमाथि खुलेका रहस्यहरूले सबैलाई चकित पारेको छ।

अदालतमा पेश गरिएको अभियोग पत्रअनुसार, गत दशैंपछि राहुल आमा-बुबालाई भेट्न भारत गएका थिए। उनीहरूको दीर्घकालीन बसोबास भारतको मुम्बईमा थियो। त्यहाँ पुग्दा उनी भारतीय नागरिक देवल विद्युत शाह र दिनेश रमेश गुप्तासँग सम्पर्कमा आए। चिनजान हुँदै जाँदा ती भारतीयले आफूसँग विदेशमा रहेका विभिन्न कम्पनीहरूबारे बताए।

राहुलले प्रहरी समक्ष दिएको बयान अनुसार, ती भारतीयले एन्टिभाइरस, सफ्टवेयर, गेमका क्वाइन बिक्री गर्दै आएको र नेपालमा पनि आफ्नो व्यापार विस्तार गर्न चाहेको बताए। तर भारतीय नागरिक भएकाले नेपालमा कम्पनी खोल्न नमिल्ने भन्दै राहुललाई नाममा कम्पनी खोल्न आग्रह गरे। बदलामा उनले मासिक २० हजार रुपैयाँ तलब दिने प्रस्ताव गरे।

त्यसपछि उनले पशुपति ग्लोबल इनोभेसन प्रालि नामक कम्पनी खोलेर पुतलीसडकमा कार्यालय  भाडामा लिए। कम्पनी र बैंक खाता खोलिसकेपछि उनले सबै कागजात, खाताको विवरणसहित भारतीय नागरिकलाई बुझाए। यति गर्दा उनले कुनै आपराधिक सोच नराखेको दाबी गरे पनि उनी कम्पनीको कानुनी सञ्चालक थिए।

राहुलका अनुसार उनले केही नगरेको अवस्थामा पनि लगातार तीन महिना तलब पाए। तर चौथो महिनामा उनको खाता रोक्का भयो। बैंक पुगेपछि थाहा भयो, उनी फिशिङ लिङ्कमार्फत सर्वसाधारणलाई ठग्ने गिरोहको मोहरा बनेका रहेछन्।

फिशिङ लिङ्कमार्फत एक करोड रुपैयाँभन्दा बढी ठगी
प्रहरी अनुसन्धान अनुसार, भारतीय गिरोहले नेपालका बल्क एसएमएस सेवा प्रदायक ‘AT_Alert’ ह्याक गरी ‘तपाईंको इसेवा खाता निलम्बन हुन लाग्यो’ भन्ने झूटो सन्देश पठाएका थिए। उक्त सन्देशको लिङ्क क्लिक गर्ने वित्तिकै प्रयोगकर्ताका इसेवा र बैंक खाता ह्याक हुने गरी स्क्रिप्ट राखिएको थियो।

यसरी चार हजारभन्दा बढी ईसेवा प्रयोगकर्ताबाट जम्मा गरेर १ करोड २ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरिएको प्रहरीको दाबी छ। तीमध्ये तीन पीडितले मात्रै निवेदन दिएका छन् । एकजनाको खाताबाट ५ लाख ५३ हजार, अर्काको ९७९० र अर्का एकजनाको ४४९९ रुपैयाँ निकालिएको थियो।

प्रहरीले अनुसन्धान गर्दा राहुलको कम्पनी खातामा ५० लाख ७५ हजार रुपैयाँ मौज्दात भेटिएको छ। यस्तै, उनले सो खाताबाट ८ लाख ३ हजार रुपैयाँ झिकेर भारतीय नागरिक देवल विद्युतलाई नगद बुझाएको स्वीकृति बयानमा दिएका छन्।

राहुलले आफूले कुनै फिशिङ लिङ्क नपठाएको, न त ठगीमा प्रत्यक्ष संलग्न रहेको दाबी गरेका छन्। उनले कम्पनी खोलेको, खाता संचालन गरेको र तलब लिएको स्वीकृति दिएका छन्। अभियोजन पक्षले भने उनले लाभ लिएको र ठगी कार्यमा प्रत्यक्ष संलग्न रहेको ठहर गर्दै मुद्दा दायर गरेको हो।

काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा २४९ (१), (२), र (३) (ग) अनुसार ठगीको अभियोगमा मुद्दा दायर गरेको छ। सात वर्षसम्मको जेल सजाय र ७० हजार रुपैयाँ जरिवाना माग गरिएको छ। साथै, पीडितको बिगो भरपाई गर्नुपर्ने माग पनि गरिएको छ।

धरौटीमा रिहा, मुख्य आरोपितहरू उम्किँदै
मंगलबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासमा सुनुवाइ भएको थियो। अदालतले राहुललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। तर देवल विद्युत शाह, दिनेश रमेश गुप्ता र राजु पाण्डे नामका व्यक्तिहरू भने अझैसम्म कानुनी दायरामा आउन सकेका छैनन्।

 

प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०८२  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update