Paschim Express
आलितालमा सरकारी पैसाबाट ३९ जनप्रतिनिधिको बीमा, ऐनविपरीत साढे ४ लाख स्वाहा !

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिकाले ऐनविपरीत सरकारी रकम प्रयोग गरेर ३९ जना जनप्रतिनिधिको बीमा गराएको खुलेको छ। महालेखा परीक्षणमार्फत सार्वजनिक भएको विवरणअनुसार गाउँपालिकाले जनप्रतिनिधिहरूको बीमाका लागि एसियन लाइफ इन्स्योरेन्स कम्पनी, जोगबुडा शाखालाई ४ लाख ३७ हजार ९९५ भुक्तानी गरेको हो।

स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ को दफा २(१) अनुसार गाउँ कार्यपालिका अध्यक्ष लगायत अन्य जनप्रतिनिधिहरूलाई निर्धारण गरिएको सुविधामा बीमा सुविधा भने स्पष्ट रूपमा उल्लेख गरिएको छैन। यस्तो अवस्थामा पालिकाले ऐनविपरीत बीमा खर्च गर्न नपाइने व्यवस्था छ।

तर, आलिताल गाउँपालिकाले उक्त कानुनी व्यवस्थाको उल्लङ्घन गर्दै सरकारी कोषबाट अनधिकृत रूपमा बीमा खर्च गरेको छ। लेखापरीक्षण प्रतिवेदनअनुसार यो खर्च अनियमित देखिएको छ। 

३३ लाखभन्दा बढीको भ्रमण खर्च, प्रतिवेदनविनै रकम भुक्तानी

आलितालमा भ्रमण खर्च शीर्षकमा पनि व्यापक अनियमितता देखिएको छ। लेखा परीक्षणको पछिल्लो विवरणअनुसार पालिकाले सुदूरपश्चिम प्रदेश अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई ३३ लाख ६३ हजार ६०९ बराबरको भ्रमण तथा अनुगमन खर्च भुक्तानी गरेको हो। तर, तीमध्ये अधिकांश भ्रमणमा न उद्देश्य स्पष्ट छ, न त कार्यसम्पादनको विवरण नै प्रस्तुत गरिएको छ।

वित्तीय नियमावलीअनुसार सरकारी भ्रमणमा खर्च भएपछिको कार्य विवरणसहितको प्रतिवेदन अनिवार्य पेस गर्नुपर्ने व्यवस्था छ। तर, आलिताल गाउँपालिकाले अधिकांश भ्रमण खर्च त्यस्ता प्रतिवेदनबिनै भुक्तानी गरेको देखिएको छ। कतिपय भ्रमण त पालिका वा कार्यालयको नियमित कामसँग सरोकार नभएका अन्तरपालिका भ्रमणसमेत रहेका छन्।

लेखा परीक्षण प्रतिवेदनमा भनिएको छ, “भ्रमणको प्रयोजन र उद्देश्य कार्यालयकै कामका लागि भएको भनेर देखाइए पनि विश्वास गर्न सकिने आधार देखिएको छैन।” त्यस्तै, कतिपय भ्रमण आदेशहरूमा आदेश नम्बर र मिति नै नराखिएको, भ्रमण अभिलेख अद्यावधिक नगरिएको पनि उल्लेख छ।

ऐन, नियमावली र कार्यान्वयन प्रक्रियालाई बेवास्ता गर्दै व्यक्तिपरक रूपमा भुक्तानी गरिएका यस्ता खर्चहरूले पालिकाको आर्थिक अनुशासन र पारदर्शितामाथि गम्भीर प्रश्न खडा गरेको छ।

 

प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०८२  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update